२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौँ । काठमाडौँको मध्यभागस्थित सुवर्णपुर क्षेत्रमा रहेका प्राचीन स्मारक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका भाषा, संस्कृति, सङ्ग्रहालय, ललितकला वा कलात्मक वस्तुको संरक्षणका लागि काठमाडौँ महानगरपालिकाले कानुन निर्माण गरेको छ ।

महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अख्तियार प्रयोग गरी नगर कार्यपालिकाले काठमाडौँ महानगरपालिका सुवर्णपुर सम्पदा संरक्षण निर्देशिका, २०८० बनाएको काठमाडौँ महानगरपालिका वडा नं ७ का वडाअध्यक्ष विमलकुमार होडाले जानकारी दिए ।

यस क्षेत्रका सम्पदाको सम्भार, प्रवद्र्धन र विकास गर्न तथा परम्परागत जात्रापर्वको सञ्चालन र व्यवस्थापनबाट यस क्षेत्रको सांस्कृतिक मौलिकताप्रति भावी पुस्ताले गौरव महसुस गर्न सकुन् भन्ने उद्देश्यले समग्र र बृहत् गुरुयोजनाका साथ काम गर्न कानुन निर्माण भएको उनले सुनाए ।

निरन्तर रुपमा सुवर्णपुर क्षेत्रमा सम्पदा संरक्षण कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) ले दिएको अधिकारअनुसार महानगरपालिकाले यो कानुन बनाएको हो । सुवर्णपुर क्षेत्रमा महानगरपालिका वडा नं ७ को अधिकांश भाग र वडा नं ६ र ८ को केही भाग पर्ने पनि वडाअध्यक्ष होडाले जानकारी दिए । यो क्षेत्रका सम्पदाको व्यवस्थापन गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति पनि गठन गरिएको छ ।

सुवर्णपुर क्षेत्रमा पश्चिममा धोबीखोला, पूर्वमा कुमारीगाल, उत्तरमा चक्रपथ र दक्षिणमा सिफलचौर हुँदै कालोपुल धोबीखोलाको चार किल्लाभित्रको ऐतिहासिक तथा सांस्कृतिक महत्वको क्षेत्र पर्ने भनी परिभाषित गरिएको छ ।

महानगरपालिका वडा नं ७ का वडाध्यक्षको अध्यक्षतामा गठन हुने सम्पदा संरक्षण समितिमा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिको संयोजक, महानगरपालिकाको वडा नं ६ र ८ का वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य एक/एक जना गरी दुई जना, महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख, पशुपति क्षेत्र विकास कोषको प्रतिनिधि, पुरातत्व विभाग र गुठी संस्थानको अधिकृतस्तरको प्रतिनिधि, प्रहरी वृत्तका एक जना, सुवर्णपुर क्षेत्रका नित्य पुजारीमध्येबाट तीन जना, संस्कृतिविद्, पुरातत्वविद्, इतिहासकार, समाजसेवी, बुद्धिजीवी वा भक्तजनमध्येबाट अध्यक्षले मनोनयन गरेका स्थानीय (कम्तीमा एक जना महिलासहित) व्यक्ति चार जना सदस्य रहने व्यवस्था गरिएको छ ।

समितिले तोकेको स्थानीय व्यक्ति एक जना सदस्य सचिव रहने व्यवस्था गरिएको छ । सुवर्णपुर सम्पदा क्षेत्र पशुपति क्षेत्रभित्र नै पर्छ । पशुपति क्षेत्रभित्र नै पर्ने भए पनि सम्पदाको संरक्षणमा उल्लेख्य कुनै काम हुन नसकेकाले कानुन निर्माण गरी समिति गठन गरिएको वडा अध्यक्ष होडाले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट