२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

लिब्रु गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीय खुसी

शुक्रवार , मंसिर १४, २०८१

मुगु । मुगुको उत्तरी सोरुगाउँपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा यहाँका स्थानीयवासी खुसी भएका छन् ।

सोरुगाउँपालिका– ४ लिब्रु गाउँमा पहिलोपटक गाडी पुगेपछि यहाँंका स्थानीयवासी खुसी भएका हुन् ।

सोरु गाउँपालिकाको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको १३ किलोमिटर सडकको ट्रयाक खुलेसँगै बिहीबार पहिलोपटक लिब्रु गाउँमा गाडी पुगेको हो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् ।

यो सडक निमार्णमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रम करिब २ करोड लगानीमा निर्माण भएको जनाइएको छ । सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको बिहीबार सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

सडक उद्घाटन कार्यक्रममा बोल्दै सोरु गाउँपालिकाका अध्यक्ष शाहीले चुनावका बेला कर्णाली करिडोर जोड्न र गाउँ–गाउँमा विद्युत् र सडक पुर्याउने वचन दिएकोमा त्यसै अनुरुप गाउँ–गाउँमा सडक पुर्याउन सफल भएको बताए । सोरु गाउँपाकिकामा हरेक ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडा बस्तीमा सडक सञ्जाल जोडिएको छ ।

हरेक वडा–बस्तीमा सडक जोड्ने लक्ष्य तथा उद्देश्य बमोजिम करिब ५० बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा आगामी वर्षसम्म जसरी पनि सडक पुर्याउने अध्यक्ष शाहीले बताए ।

उनका अनुसार यो सडकलाई हुम्ला कर्णालीमा बेलिबृजको व्यवस्थापन गरी कर्णाली करिडोरमा पनि जोडिने छ । सोरुकोट मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले मुगुका नागरिकलाई मात्र सहज नभई हुम्लाका नागरिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो सडकले हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका नागरिकलाई पनि यातायाताका क्षेत्रमा सहज हुने भएको छ ।

यहाँ स्थापना भएका बैंकमध्ये सोरुकोटमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट हुम्लाका नागरिकलाई राजश्व, पेन्सेनलगायतका बैंकिङ सेवा लिन हुम्लाका नागरिकलाई सदरमुकाम सिमिकोट जानुभन्दा सोरुकोट आउन सहज हुने भएकाले मुगुका नागरिकलाई मात्र नभई हुम्लाका नागरिकहरुलाई पनि सहज हुने सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताए ।

उनले यतिमात्र नभएर हुम्लाका तीन पालिकाका नागरिकहरुलाई स्वास्थ्य सेवालगायत अन्य व्यापारका हिसाबले पनि यो सडकको प्रयोग गरेर हुम्लाका नागरिकहरु मुगु सदरमुकाम गमगढीसम्म सेवा प्रवाहमा जोडिने अधिकृत शाहीले बताए ।

सोरु गाउँपालिकाको लिब्रु गाउँमा सबैभन्दा बढी सिमी, मास, केरालगायत उत्पादन हुने गर्दछ ।

यातायातको सुविधा नहुँदा सिमी, मास सदरमुकाम गमगढी बजारमा बोकेर बिक्रीका लागि ल्याउने समस्या थियो । अब गाउँमै गाडी पुगेपछि बिक्रीको लागि पनि सहज हुने स्थानीय अगसरा शाहीले बताइन् । अब गाउँमा गाडी पुगेकाले धेरै उत्पादन हुने खाद्यान्न फलफूल, बजारीकरणमा सहज हुने उनको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट