काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार र निर्माण व्यवसायीहरुका बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो ? भन्दै प्रश्न गरे । उनले एकले अर्काको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुन नसक्ने बताए । उनले निर्माण व्यवसायी र सरकारबीचको साझा अभिभारा देश निर्माण भएको बताए ।
सरकार र निर्माण व्यवसायी बीचको सम्बन्ध ट्रयाक भन्दा बाहिर जान दिनु नहुने बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले वास्तविकतालाई बुझेर अघि बढ्न जरुरी रहेको बताए । उनले बजेट वितरणमा धेरै समस्या रहेको बताए । बिना अध्ययन र तयारीका आयोजनाहरुबाट देश बन्न नसक्ने बताए । बजेट वितरण प्रणालीमा निर्णायक सुधारको जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले हालै मात्र केही सिमेन्ट कम्पनीहरुले सिमेन्टको मूल्यमा २ सय रुपैयाँ वृद्धि गरेको भन्दै आपत्ति जनाए । उनले अन्तर्राष्ट्रिय स्तरमा कुनै कुराको मूल्य वृद्धि नभएको तर बजारमा सिमेन्टको मूल्य वृद्धिका काराण् भौतिक पूर्वाधार र विकास निर्माणको क्षेत्रमा समस्या भएको बताए ।
सरकार यस विषयमा मुकदर्शक बन्न नहुने र सरकारले के कारणले एक महिनामा दुई सय रुपैयाँ मूल्य वृद्धि भयो भन्नेबारेमा जिम्मेवार भइ सिमेन्ट उद्योगीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
अध्यक्ष सिंहले चिनियाँ निर्माण कम्पनीहरुले नेपालको ऐन, कानूनका कारण विकास निर्माणमा बाधा पुगिरहेको गुनासो गरेको बताए ।