जनकपुरधाम / धनुषाको जनकपुरधामस्थित एक होटलबाट प्रहरीले अवैध हतियार र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जनकपुर उपमहानगरपालिका–९ को थापा चौकमा रहेको थापा होटलमा शंकास्पद गतिविधि भइरहेको सूचनापछि वडा प्रहरी कार्यालय मुजेलियाको टोली घटनास्थल पुगेको थियो। होटलमा खाना खाइरहेका दुई युवकको खानतलासी गर्दा उनीहरूको साथबाट पेस्तोल र गोली फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी अमन यादव (करिब २० वर्ष) र हंसपुर नगरपालिका–६ सोनीगाम निवासी सुधिर मुखिया (करिब १८ वर्ष) रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवका अनुसार पक्राउ परेकाहरूको साथबाट एउटा पेस्तोल, एक थान म्यागजिन, ९ एमएमको एक राउन्ड गोली र ७.६५ एमएमका तीन राउन्ड गोली बरामद गरिएको छ ।
बरामद हतियार र गोलीसहित दुवै युवकलाई नियन्त्रणमा लिएर घटनाको स्रोत, उद्देश्य र सम्भावित संलग्नताबारे विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस