काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानून निर्माणको सवालमा संसदीय समिति र सांसदहरुले जागरुकताका काम गनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले सांसदहरु निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने गरेका कारण संसदीय समितिमा कोरम नपुग्ने समस्या रहेको बताए ।
उनले सांसहरु संसदप्रति उत्तरदायी नभएको टिकाटिप्पणीहरु भइरहेको उल्लेख गर्दै संसद र समितिहरुलाई प्रभावकारी बनाउन सबै संसदहरुले भुमिका खेल्न जरुरी रहेको बताए । उनले संघीयता कार्यान्वयनको सवालमा प्रश्नहरु उठिरहेको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माण गर्न निरन्तर छलफल गरिरहेको बताए ।
उनले विद्यालय शिक्षा विधेयक र संघीय निजामति विधेयक छिटो ल्याउन आफूले निरन्तर निर्देशन दिइरहेको बताए । उनले संसदीय समितिहरुमा धेरै विधेयक नभए पनि संसदहरुको ध्यान नपुग्दा कानून निर्माणमा ढिलाई भइरहेको बताए ।
उनले संसदीय पत्रकारिताले संसदमा भएका समस्याहरु र त्यसको महत्व उजागर गर्न महत्वपूर्ण भुमिका खेल्दै आएपनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा गर्न नहुने क्रियाकलापहरु बढ्दै गएको बताए ।
सञ्चार क्षेत्रले समाचार संप्रेषणका क्रममा सहि सूचनालाई सही ढंगले संप्रेषण गर्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले संसदीय गतिविधि, संसदका समस्याहरुलाई पत्रकारिता क्षेत्रबाट उजागर भएपछि मात्र सच्याउन सकिने भएकाले संसद सेवालाई प्रभावकारी बनाउन संसदीय पत्रकारितालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
लोकतन्त्र र संसदीय व्यवस्थालाई बलियो र प्रभावकारी बनाउन संसदीय पत्रकारितालाई प्रभावकारी बनाउन जरुरी रहेको उनको भनाइ छ ।