काठमाडौं । सरकारले तेस्रो दुरसञ्चार सेवा प्रदायकहरु ल्याउन खोजिरहेका बेला सञ्चालनमा रहेका दुई टेलिकम कम्पनीको वित्तीय अवस्था कमजोर हुँदै गएको छ । पाँच वर्षयता सरकारी स्वामित्वको नेपाल टेलिकम र एनसेल आजियटा लिमिटेडको बिजनेस निरन्तर खुम्चिदै गएको छ । बिजनेस कम भएपछि नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलको नाफा पनि खुम्चिन थालेको हो । आम्दानी घटेपछि बजार विस्तार हुन नसकेको टेलिकम कम्पनीहरुको भनाई छ ।
एक समयमा राम्रो आम्दानी गरेका दुरसञ्चार कम्पनीहरुको नाफा विस्तारै खुम्चिँदै गएको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ । व्यवसाय कम भएपछि सरकारले पाउने कर पनि घट्दै गएको छ ।
सन् २०१९ देखि २०२४ को पाँच वर्षको अवधिमा भारतमा टेलिकम बिजनेस १ सय १२ प्रतिशत बढ्दा नेपालमा २५ प्रतिशत खुम्चिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जाब्बोर कायुमोभले बताएका छन् । उनले दक्षिण एसियामा टेलिकम बिजनेस बढ्दा नेपालमा ५ प्रतिशत घटेको तथ्याँक प्रस्तुत गरेका छन् ।
यसबीचमा नेपालमा इन्टरनेट सेवा प्रदायकहरुको व्यापार ४ सय १ प्रतिशत बढेको छ । । इन्टरनेट सेवा प्रदायकको आक्रमक उपस्थिती अहिले टेलिकम कम्पनीको बाधक बनेको छ ।
टेलिकम र एनसेलको व्यापार २५ प्रतिशत समग्र टेलिकम ५ प्रतिशत घटेको छ । नेपालमा टेलिकम कम्पनीहरुको व्यापार घट्दा छिमेकी भारतमा १ सय १२, बंगलादेशमा ४६ र श्रीलंकामा ३८ प्रतिशत बढेको छ । नेपाल टेलिकम र एनसेलको करपछिको आम्दानी घटेर ५ प्रतिशतमा सिमित भएको सिइओ कायुमोभले जानकारी दिएका छन् । कायुमोभले ३ देखि ५ वर्ष यही अवस्था रहे नेपाल टेलिकम र एनसेलको अवस्था नाजुक हुने प्रक्षेपण सार्वजनिक गरेका छन् । पूर्वाधारमा लगानी नहुँदा आउँदो तीन वर्षपछि टेलिकम कम्पनीहरुको गुणस्तर अझ खच्किने संकेत गरेका छन् । यसका लागि टेलिकम कम्पनीको पुनर्संरचना आवश्यक भएको औल्याएका छन् ।
सिइओ कायुमोभले सरकारले तेस्रो टेलिकम अपरेटर ल्याउने सोच बनाइरहेका बेला त्यसका लागि नयाँ क्षेत्र नभएको स्पष्ट पारेका छन् । नाफा घटेकाले थप लगानी गर्ने क्षमता गुम्दै गएको उनले जानकारी दिए । वार्षिक १८ अर्ब रुपैयाँसम्म लगानी गरेका नेपाल टेलिकम र एनसेलले अहिले घटेर वार्षिक ६ अर्ब रुपैयाँमा खुम्चिएकाले आगामी दिनमा मोबाइल सेवाको गुणस्तर अझ खच्किने सिइओ कायुमोभको भनाई छ ।
सरकाले टेलिकम कम्पनीहरुबाट कूल आम्दानीमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) सर्भिस सेवा १० र वनरसिप शुल्क २ प्रतिशत रहेको छ । यस्तै सञ्चालन लागत, स्प्रेक्टम कस्ट, रोयल्टी र ग्रामीण दुरसञ्चार सेवा (आरटिडिएफ), डिप्रिसियसन, वित्तीय लागत र इजाजतपत्र शुल्क (लाइसेन्स फि) मा कूल आम्दानीको ३८ प्रतिशत खर्च हुने गरेको एनसेलले जनाएको छ । यस्तै संस्थागत करमा ८ प्रतिशत खर्च हुने गरेको छ । यसबीचमा टेलिकम कम्पनीको औसत खुदनाफा ५ प्रतिशतमा सिमित भएको छ । यो नाफा बैंककको ब्याजदर भन्दा कम हो । टेलिकम कम्पनीहरुले कूल आम्दानीको ४८ प्रतिशत रकम सरकारलाई कर तिर्न खर्च हुने गरेको छ ।
टेलिकम क्षेत्र बढी लगानी आवश्यक पर्ने उद्योग हो । यसमा वार्षिक १५ देखि २० प्रतिशत आम्दानी पूर्वाधार विस्तारमा खर्च गर्नुपर्ने छ । जडान भएको उपकरणको आयु ५ देखि ७ वर्षसम्म हुने गरेको छ । यसबीचमा स्मार्टफोन प्रयोगकर्ता भने ६ सय प्रतिशत बढेको देखिएको एनसेलले जनाएको छ । अहिलेको अवस्थालाई कायम राख्न वार्षिक न्यूनतम ६ अर्ब रुपैयाँ थप लगानी आवश्यक पर्ने सिइओ कायुमोभले बताएका छन् ।
एनसेलका अनुसार सन् २०१७ मा टेलिकम बिजनेस ९७ अर्ब ३० करोड ७० लाख रुपैयाँ थियो । २०२३ मा घटेर ६८ करोड ४३ लाखमा सिमित भएको छ । आगामी सन् २०२९ मा अझ घटेर ५६ अर्ब ३७ करोड २० लाख रुपैयाँमा झर्ने प्रक्षेपण एनसेलको छ । यसैगरी सरकारले २०१७ मा टेलिकम क्षेत्रबाट ४३ अर्ब ४२ करोड राजस्व पाएकोमा २०२३ मा घटेर ३१ अर्ब ५८ करोडमा सिमित भएको छ । यस्तै २०२९ सम्म राजस्व अझ घटेर २१ अर्ब ८१ करोड रुपैयाँ मात्र हुने अनुमान एनसेलले गरेको छ ।
एनसेलका अनुसार ७७ प्रतिशत ग्राहकले ६० प्रतिशत समय वाइफाइमा विताउने गरेका छन् ।
भारतमा ९९ प्रतिशत जिल्लामा फाइभजी
छिमेकी भारतमा टेलिकम कम्पनीहरुले आक्रामक रुपमा बजार विस्तार गरिरहेका छन् । अहिले ९९ प्रतिशत जनसंख्यामा फाइजी नेटवर्क पुगेको छ । कूल ७ सय ८७ जिल्लाहरु मध्ये ७ सय ७९ जिल्लामा फाइभजी नेटवर्क पुगेको एनसेलले जनाएको छ ।
खर्बपति मुकेश अम्बानीले जिओ टेलिकमको ल्याएपछि भारतमा टेलिकमको तीव्र बजार विस्तार हुन पुगेको हो । भारतमा अहिले एयरटेल, जिओ र भोडाफोन आइडियाले मोबाइल तथा डाटा सेवा दिइरहेका छन् । नेपालमा भने युनाइटेड टेलिकम, स्मार्ट टेलिकम बन्द भइसकेका छन् ।
नेपाल टेलिकमको २० प्रतिशत घट्यो
गत आर्थिक वर्षमा नेपाल टेलिकमको खुदनाफा १९.६८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा टेलिकमको खुदनाफा ७ अर्ब ९२ करोड २० लाख रुपैयाँ थियो ।
एक वर्षको अवधिमा टेलिकमको नाफा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ घटेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । टेलिकमको खुदआम्दानी ५.२५ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आम्दानी ६.२८ प्रतिशत घटेर ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा टेलिकमको कूल आम्दानी ४४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा नेपाल टेलिकमको कूल आम्दानी २ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ ।
असारसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी पनि घट्न पुगेको छ । अघिल्लो वर्ष ३६ अर्ब २७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको अहिले भने घटेर ३४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ ।
त्यसैगरी, वित्तीय आम्दानी पनि ७ अर्ब ७७ करोडबाट घटेर ६ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यसले गर्दा यसको नाफा प्रभावित भएको हो ।
टेलिकमको अन्य स्रोतबाट हुने आम्दानी भने ३७ करोड २९ लाखबाट बढेर ६७ करोड ४० लाख रुपैयाँ पुगेको छ । टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ४४ रुपैयाँ रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ३६ रुपैयाँ ७७ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने ५ सय ५२ रुपैयाँ ४३ पैसा रहेको छ ।
कम्पनीले सेयरधनीलाई ३६ रुपैयाँ ७७ पैसा मात्र लाभांश दिने अवस्था देखिएको छ । यसअघि कम्पनीले ५५ रुपैयाँसम्म नगद लाभांश दिएको थियो ।
एनसेलको बिजनेस निरन्तर गिरावट
यस्तै अर्को मोबाइल सेवा प्रदायक एनसेलको आम्दानीमा पनि गिरावट आएको छ । पछिल्ला वर्षमा टेलिकम कम्पनीहरुको भ्वाइस कलबाट हुने आम्दानीमा निरन्तर गिरावट आएको छ । पाँच वर्षमा एनसेलको आम्दानी झण्डै २२ अर्ब रुपैयाँ घटेको छ ।
डाटाबाट हुने आम्दानीमा सुधार देखिए पनि व्यापार घट्दै गएको एनसेलको वित्तीय विवरणबाट देखिएको छ । एनसेलले दिएको जानकारीअनुसार दक्षिण एसियाका बंगलादेश र श्रीलंकामा टेलिकम बिजनेस बढेका बेला नेपालमा २५ प्रतिशत घटेको छ ।
आम्दानी र नाफा खुम्चिरहेका बेला सेवा विस्तारमा तीन गुणासम्म लगानी गरेको एनसेलले जनाएको छ । २०२३ सेप्टेम्बरमा सार्वजनिक गरिएको वित्तीय विवरणमा २७ अर्ब २२ करोड रुपैयाँ ऋण रहेको एनसेलले जनाएको छ । ऋण भएका कारण एनसेलले किस्तावन्दीमा नविकरण शुल्क बुझाउन सुविधा पाएको छ ।
गत वर्ष सन २०२३ मा एनसेलको व्यापार ६ प्रतिशत घटेर ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।
२०२२ मा एनसेलले ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । एक वर्षको बीचमा एनसेलको सञ्चालन आम्दानी २ अर्ब २८ करोड ३० लाख रुपैयाँ घटेको छ ।
२०२१ मा ४० अर्ब ४२ करोड २४ लाख, २०२० मा ४६ करोड ८७ लाख ४० हजार रुपैयाँ कारोबार गरेको थियो । सन २०१८ मा झन्डै ६० अर्ब रुपैयाँ बराबर कारोबार गरेको एनसेलकोे कारोबार २०२३ मा आइपुग्दा घटेर ३७ अर्ब रुपैयाँमा झरेको छ ।
२०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख, २०१८ मा ५९ अर्ब ८१ करोड ६० लाख र २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीको जिएसएमबाट हुने आम्दानी सन २०२३ मा ४२ प्रतिशत, २०२२ मा ५४ प्रतिशत र २०२१ मा ६१ प्रतिशत घटेको कम्पनीले जनाएको छ ।
एनसेलले लगानीकर्तालाई सतप्रतिशतसम्म लाभांश दिँदै आएको जनाएको छ । ३ वर्षमा औसत ९४ प्रतिशत लाभांश लगानीकर्तालाई दिएको छ । २०२२ मा ९० प्रतिशतसम्म लाभांश दिएको एनसेलले जनाएको छ ।
२० अर्ब शुल्कले टेलिकम र एनसेल डुबाउँदै
नेपालमा टेलिकमको भविष्य नभएको होइन । ऐन पनि बाधक बन्दा टेलिकम क्षेत्रमा नयाँ लगानी आउन नसकेको हो । २० अर्ब रुपैयाँ लाइसेन्स शुल्कले टेलिकम कम्पनीहरुलाई अप्ठेरोमा पारिरहेको नेपाल दुरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कंडेल बताउछन् । उनका अनुसार पाँच वर्षमा २० अर्ब तिर्न सक्ने भनेको एनसेल र नेपाल टेलिकम भन्दा अरु देखिएनन् । बजार सिमित हुँदा आम्दानी घट्दै गएको छ । त्यसकारण टेलिकम क्षेत्र विस्तारमा सबैभन्दा ठुलो तगारो अहिलेको ऐन नै भएको उनको बुझाइ छ ।
‘२० अर्ब रुपैयाँ शुल्क एक पटक मात्र तिरे हुने व्यवस्था गर्नुपर्ने थियो । अब बुज्रुकहरुले धेरै बुझेर प्रत्येक ५ वर्षमा २० अर्ब रुपैयाँ शुःक तिर्नुपर्ने व्यवस्था लागू गरे । २० अर्ब रुपैयाँको घाँडो रहिरहने हो भने अब नेपालको टेलिकम क्षेत्रमा अर्को कम्पनी आउने सम्भावना छैन । यही अवस्था रहे एनसेल र टेलिकम पनि कतिन्जेल चल्छन थाहा छैन्’ उनले सुनौलो नेपालसँग भनेका छन् ।
२० अर्ब शुल्क नहटाइकन अरु कम्पनी आउने सम्भावना नदेखिएको उनको भनाई छ । ‘ऐन ल्याउन सफल भएमा यो सेक्टर राम्रोसँग चल्छ, यदी ल्याउन सकिएन भने घुमी घुमी रुम्जाटार त्यही नेपाल टेलिकम मात्रै रहने अवस्था आउने देखिन्छ । नेपालमा मात्र हैन संसारभरि नै टेलिकमको बिजनेस घट्दै गएको छ’ उनले भनेका छन् ।
यो पनि :