२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

भृकुटी कागज कारखाना पीपीपी मोडलमा चलाउन व्यवसायीको आग्रह

सोमवार , पौष १५, २०८१

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा भेला भएका उद्योग व्यवसायीले देशभरका रुग्ण उद्योग पुनःसञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् । यहाँ दुई दिनसम्म सञ्चालन भएको नेपाल उद्योग तथा व्यवसाय महासङ्घको राष्ट्रिय विस्तारित बैठकले उत्पादन बन्द भई रुग्ण अवस्थाका उद्योग सञ्चालन गर्न सरकारसँग आग्रह गरेको हो ।

भेलाले तयार पारेको नौ बुँदे ‘नवलपुर चितवन घोषणापत्र’ आइतबार सार्वजनिक गर्दै राष्ट्रिय भेला संयोजक डा तिलचन्द्र भट्टराईले गैँडाकोटको भृकुटी कागज कारखानालगायत देशभर बन्द अवस्थाका सबै उद्योगलाई सरकार र निजी क्षेत्रको साझेदारी अवधारणामा पुनः सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गरे । उद्योग व्यवसायीले राष्ट्रिय पुँजी निर्माण गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै कानुनसम्मत रुपले व्यवसाय सञ्चालन गर्न चाहे पनि ऐन, कानुन र नियमावलीका कारण समस्या भएकाले राज्यले सहज किसिमले समस्या समाधान गरिदिन भट्टराईले आग्रह गरे ।

राष्ट्रिय पुँजी निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना सार्थक बनाउन नेपालका आर्थिक समृद्धिका प्रमुख स्रोतहरु कृषि, पर्यटन, जलस्रोत, आइटी र खनिज क्षेत्रको विकास र न्यायोचित वितरण गर्नुपर्ने बताए ।

नेपालको धार्मिक पर्यटनको सम्भावना बोकेको देवघाटधाम, नारायणी नदी, त्रिवेणीधामसँगै अयोध्यापुरी र राम जन्मभूमिलगायत क्षेत्रलाई समेटी राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । महत्वपूर्ण धार्मिक पर्यटकीय र ऐतिहासिक क्षेत्रमा कुनै पनि फोहरजन्य पदार्थ विसर्जन नगर्ने गरी यसको शुद्धता कायम गर्दै पर्यटकीय आर्थिक क्षेत्रको रुपमा विकास गर्न माग गरिएिको छ ।

त्यस्तै, कोरोला नाकासहित गण्डकी करिडोरलाई व्यवस्थित गर्न तीन तहकै सरकारसँग आग्रह गरिएको छ । नेपालको उत्तर दक्षिणमा रहेका दुई छिमेकीमूलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीमा पर्ने केरुङ रसुवागढीहुँदै माडी ठोरीसम्मको द्रुुतमार्ग निर्माण गरी यो क्षेत्रलाई आन्तरिक र बाह्य व्यापारको प्रमुख व्यापारिक केन्द्र (ट्रेडिङ हब) बनाउन घोषणापत्रमार्फत अपिल गरिएको छ ।

दुई ठूला प्रमुख राजनीतिक दल सहभागी भई निर्माण भएको सरकारले छोटो समयमा नै आर्थिक क्षेत्रमा देखिएको अन्योलग्रस्त अवस्थालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने गरी आशाका किरण प्रवाह गर्न थालेकोप्रति उद्योग व्यवसायीले खुसी व्यक्त गरेका छन् । अझै पनि लगानीको वातावरण निर्माण नभइसकेको भन्दै राष्ट्रिय भेलाले आर्थिक गतिविधिमा अवरोध ल्याउने विरोधाभासपूर्ण ऐन कानुन र नियमावली संशोधन गर्दै व्यवसायमैत्री कर प्रशासन ल्याउन माग गरेको छ ।

दुई दिनसम्म चलेको भेलाले उद्योग व्यवसायीका वर्तमानका चुनौतीलाई सामना गर्दै अवसरको रुपमा विकास गर्नसक्ने चुस्तदुरुस्त सङ्गठन निर्माण गर्न विधान परिमार्जन गरिएको महासङ्घका संयोजक भागिरथ सापकोटाले बताए । देशभरबाट करिब तीन सय ५० प्रतिनिधि सहभागी भएको भेलाको उद्घाटन नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गरेका थिए ।

भेलामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले राज्यले अपेक्षा गरेको उद्योग व्यवसायीको भूमिका र सङ्गठन सुदृढीकरणका विषयमा धारणा राखेका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले तथ्याङ्कसहित वर्तमान आर्थिक अवस्था, अर्थनीति र मौद्रिक नीतिमा गरिएका सुधारका विषय चर्चा गरेका थिए ।

भेलामा उपस्थित व्यवसायीप्रतिनिधि तथा सङ्घ संस्थाका पदाधिकारीद्वारा मुलुकमा व्यवसायीले भोग्नु परेका समस्याको बारेमा राखिएका जिज्ञासा खतिवडाले सहजीकरण गर्दै ऐन, कानुन परिवर्तन गर्नुपर्ने विषयमा पहलकदमी लिने आश्वासन दिएका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट