काठमाडौं । नेता डा. भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन् । एमालेको संगठित सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पूर्वउपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफ्ना प्रश्नको जवाफ नदिए मिसन ०८४ मा पतन हुने दाबी समेत गरेका हुन् ।
बुधबार काठमाडौंमा जारी पत्रकार सम्मेलनमा उनले आफूले सोधेका प्रश्नको जवाफ नदिए एमालेको मिसन ०८४ मा पतन हुने दाबी गरे ।
उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन् ।
‘पार्टीलाई किन विकृतिमा धकेल्नुभयो । पार्टीपंक्ति कुबाटो र दुषित ठाउँमा धकेल्नुभयो,’ एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दै रावलले भने, ‘आफूले सोधेको स्पष्टीकरणको जवाफ नदिए मिसन ०८४ पतन हुने छ ।’
त्यस्तै, उनले ओलीलाई विभिन्न समयमा राष्ट्र हित विपरीत गरेका निर्णय, गुठी आन्दोलन, राजनीतिलाई अस्थिर तुल्याउने गतिविधि, सरकारमा रहँदा आफूले गरेका प्रतिबद्धता पुरा नगरेको, सङ्क्रमणकालीन न्यायसम्बन्धी काम, द्रुतमार्ग, ६ लेनको राजमार्ग, विद्युतीय रेल, चक्रपथ रेल, मेट्रो, मनोरेल, प्रतिव्यक्ति आय, असमान सन्धि सम्झौताबारे के गर्नुभयो ? भनेर प्रश्न गरे ।
उनले घरघरमा खाना पकाउने ग्यास पाइप, पानी जहाज, अन्तरिक्षमा आफ्नै यान र नेकपा विवादबारे प्रश्न गरे ।