काठमाडौं । माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनाको दोस्रो लट इलेक्ट्रोमेकानिकल उपकरण निर्माण तथा आपूर्तिका लागि तीन कम्पनी छनौट भएका छन् ।
आयोजना विकासकर्ता मोदी जलविद्युत कम्पनी लिमिटेडले भारत हेभी इलेक्ट्रिक कम्पनी लिमिटेड, भ्वाइथ हाइड्रो प्रालि र हाङजु रिसोर्स पावर इक्विपमेन्ट कम्पनी लिमिटेड सारभूत रुपमा प्रभावग्राही भएको जनाएको छ ।
भारत हेभी भ्वाइथ भारतीय कम्पनी हो भने हाङजु रिसोर्स चिनियाँ कम्पनी हो । तीन कम्पनीहरुले पेश गरेको आर्थिक प्रस्ताव यही जनवरी १९ मा खोलिने भएको छ । छनौट हुने कम्पनीसँग ठेक्का सम्झौता हुने विकासकर्ता मोदी जलविद्युतले जनाएको छ ।
४२ मेगावाटको माथिल्लो मोदी ए नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनी मोदी जलविद्युतले बनाइरहेको छ ।
गत चैतको पहिलो साता बोलपत्रमा सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने एसएससिइ हाइ हिमालय जेभी कम्पनीले आयोजना बनाउने जिम्मा पाएको छ ।
पहिलो लटमा सिभिल संरचना निर्माण र हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडान रहेको छ । निर्माण व्यवसायी एसएससिइ हाइ हिमालय जेभीलाई २ करोड २१ लाख १८ हजार डलर र २ अर्ब ४ करोड ६८ लाख ४६ हजार रुपैयाँमा भुक्तानी हुने मोदी जलविद्युत कम्पनीले जनाएको छ ।
आयोजनाको प्योकज–१ अन्र्तगत सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) खाकामा निर्माण हुने भएको छ । पहिलो लटका लागि साढे ४ अर्ब खर्च हुने देखिएको छ ।
४२ मेगावाटको माथिल्लो र १८.५ मेगावाटको तल्लो मोदी आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको छ । आयोजनामा ७० प्रतिशत बैंकको ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइने गरी लगानी संरचना तयार पारिएको छ ।
आयोजनामा एनएमबी बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले (एचआइडिसिएल) सहवित्तीयकरण मार्फत आयोजनामा ऋण लगानी गर्ने भएका छन् । बैंक तथा एचआइडिसिएलले निर्माण अवधिको ब्याजसहित ७ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन् ।
कुल ऋणमध्ये एनएमबी बैंकको ४ अर्ब ४० करोड र एचआइडिसिएलको ३ अर्ब रुपैयाँ ऋण लगानी रहने भएको छ ।
माथिल्लो मोदी निर्माण सुरु भएको ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म आयोजना निर्माणको काम भइरहेको छ ।
कम्पनीले १८.२ मेगावाटको माथिल्लो मोदी जलविद्युत्त आयोजनासमेत निर्माण गर्नेछ । दुई आयोजनाको जडित क्षमता ६० मेगावाट पुग्ने छ । मोदी खोलामा चौधरी ग्रुपको ४ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको मध्य मोदी आयोजनाबाट २०७९ मंसिरदेखि बिजुली उत्पादन थालेको हो ।
यस्तै नेपाल विद्युत प्राधिकरणको १४ मेगावाटको मोदीका साथै निजी लगानीमा १० मेगावाटको मोदी आयोजना सञ्चालनमा छ ।
यो पनि :
मोदी जलविद्युतमा निर्माण व्यवसायी छनौट, एसएससिइ हाइहिमालयन जेभीले बनाउने