काठमाडौँ । चौधरी ग्रुपको सम्राट सिमेन्ट प्रालिले १५ अर्ब रुपैयाँमा लगानी गरेर उद्योगको क्षमता विस्तार गर्न लागेको छ । क्षमता विस्तार परियोजना कार्यान्वयन प्रक्रिया सुरु गर्न लगानी बोर्डसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
आज एक कार्यक्रमबीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरु गर्नेसम्बन्धी समझदारीपत्र (एमओयु)भएको हो ।
समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्ताक्षर गरे ।
लगानी बोर्डको प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार सम्राट सिमेन्ट यसअघि उद्योग विभागमा दर्ता भएकामा लगानी वृद्धि पछि बोर्डमार्फत अघि बढ्नेछ ।
“सम्राटले यसअघि उद्योग विभागमा दर्ता भएर काम गरिरहेको थियो । ६ अर्ब पैयाँ भन्दा माथिको लगानी बोर्डमार्फत कार्यान्वयन हुनुपर्ने व्यवस्थाअनुसार यो कम्पनी बोर्डमा आएको हो”, उनले भने, “परियोजना कार्यान्वयनका लागि आज पहिलो चरणको एमओयु भएको छ । अब परियोजना विकास सम्झौता र लगानी सम्झौतालगायत प्रक्रिया बाँकी छन् ।”
यसअघि २०७७ असारमा बसेको लगानी बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाका लागि १५ अर्ब पाँच करोड रुपैयाँ लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो ।
गत वर्ष सम्राटले ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँको मात्र सिमेन्ट व्यापार गरेको छ। अघिल्लो वर्ष सन् २०२२ मा सम्राटले ४ अर्ब ७५ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो।
एक वर्षमा सम्राटको सिमेन्ट व्यापार १ अर्ब ५० करोड रुपैयाँ घटेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा देखिएको छ। एक वर्षमा उद्योग नोक्सान ४३ करोड ३० लाख रुपैयाँ छ। कम मार्जिन र उच्च ब्याजदरका साथै बिक्रीमा आएको कमीले सम्राट नोक्सानमा गएको हो।
२०२१ मा ३ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। बजारमा सिमेन्टको माग र मूल्य घट्दाको असर सिमेन्ट उद्योगमा परेको हो। उद्योगको क्लिङकर व्यापारमा भारी गिरावट आएको देखिएको छ। २०२२ मा उद्योगले ३ लाख ४२ हजार टन क्लिङकर व्यापार गरेको थियो।
गत वर्ष भारी गिरावट आएर ७१ हजार ५ सय ६८ टनमा छ। सरकारले पनि ठूला पूर्वाधारमा खर्च गर्न नसकेपछि नेपालमा सिमेन्टको माग घटेको उद्योगको भनाई छ।
उद्योगले कोइला, फ्लाई ऐस, जिप्सम, माटो, बक्साइट र फलामको प्रमुख कच्चा पदार्थको रूपमा प्रयोग गर्दछ। कच्चा पदार्थमा कोइलाको हिस्सा ७० प्रतिशतसम्म छ। उद्योगले अष्ट्रेलिया, दक्षिण अफ्रिका र भारतबाट कोइला आयात हुने गरेको छ।
यो पनि :
चौधरी ग्रुपको सम्राट सिमेन्टको घाटा ४३ करोड, ऋण साढे १२ अर्ब