श्री टेक्सटाइलले भर्खरै स्थापनाको स्वर्णजयन्ती मनाएको छ । २०३१ सालमा स्थापना भएको उद्योग निरन्तर सञ्चालनमा छ । कपडाको माग घटेपछि अहिले उद्योग क्षमतामा ह्रास आएर २५ प्रतिशत मात्र सञ्चालनमा छ ।
भारतबाट ठूलो परिमाणमा कपडाको चोरी पैठारी हुँदा यसको ठूलो मार नेपाली कपडा उद्योगलाई परेको छ । १५ प्रतिशतसम्म महंगो भए पनि स्वदेशी वस्तु किन्ने नीति सरकारले कार्यान्वयन नगर्दा नेपाली उद्योग समस्यामा परेका छन् । पछिल्लो समयमा नेपाली कपडा उद्योग धर्मराएको अवस्था छ ।
नेपालमा कपडा उद्योगको अवस्था र सुधारका योजनाका विषयमा केन्द्रीत रहेर श्री टेक्सटाइलका प्रवन्ध सञ्चालक नारायणलाल जोशीसँग सुनौलो नेपालले गरेको कुराकानी ।
कसरी कपडा उद्योगमा लाग्नु भयो ?
वि.सं. १९८६ मा मेरो माइला बाजेले टेक्सटाईल (कपडा) उद्योग सुरु गर्नुभएको हो । पुरानो उद्योग बन्द भएपछि मेरो बुबाले वि. सं. २०१८ सालमा पुनः कपडा उद्योग सुरु गर्नुभयो । त्यसपछि वि. सं. २०३१ सालमा पाटन औद्योगिक क्षेत्रभित्र हामीले श्री टेक्सटाईल उद्योग स्थापना गरेका हौँ । हामीले पुरानै व्यवसायलाई निरन्तरता दिँदै आएका छौं । ५० वर्ष पुगेको अवसरमा उद्योगले भर्खरै स्वर्णजयन्ती पनि मनाएको छ ।
पहिला तपाईंका बाजेहरुले सञ्चालन गर्नुभएको उद्योग कस्तो थियो ?
वि. सं. १९८६ मा स्थापना भएको उद्योग पाटन ढोकामा थियो । त्यसबेला पनि दुई रोपनी जग्गामा उद्योग सञ्चालन भएको थियो । त्यसबेला उद्योग व्यवस्थित रुपमा चलेको थियो । उद्योग स्थापना गर्ने मेरा माइला बाजे चाँडै बित्नुभयो र अन्य भाइहरुले त्यो कामलाई निरन्तरता दिएनन् । बन्द भइसकेपछि उद्योगको मेसिन मैले पनि देखेको हो ।
त्यसबेला चक्रपात कपडा उद्योगको नामले सञ्चालित थियो । वि.सं. २०२० सालमा आएर उद्योग उद्योग परिषदमा दर्ता भएको थियो । मेरो विचारमा त्यो बेलाको पहिलो व्यवस्थित उद्योग थियो होला त्यो । त्यो बेलाको व्यापार नेपालमा मात्रै थियो । वि. सं. २०१८ सालतिर हामीले ह्याण्ड लुम सुरु गरेका थियौं । २०२५ सालमा आएर त्यसलाई अपग्रेड गरी हामीले पावर लुम सुरु गरेका थियौँ ।
कति लगानीमा यो उद्योग खोल्नुभएको थियो ?
त्यसबेला लाख त होइन हजार मै खुलेको होला । तर, कति हजारमा खोलियो थाहा भएन । त्यो बेलाको ५०/६० हजार भनेको पनि समयअनुसार ठूलो कुरा हो ।
अहिले औद्योगिक क्षेत्र सुस्त अवस्थामा छ, कसरी यो क्षेत्र कमजोर हुन पुग्यो ?
सुरु नै नेगेटिभबाट गरौँ कि पोजेटिभबाट गरौँ भन्ने भयो । अहिलेको स्थितिलाई मध्यनजर गर्ने हो भने त नेगेटिभबाटै सुरु गरेको राम्रो होला । किनभने, अहिले हेर्ने हो भने आर्थिक, राजनीतिक र सामाजिक सबैतिर एक किसिमको विकृति र नकारात्मक सोच देखिएको छ ।
सुरुमा हामीले बाहिरबाट मात्र नकारात्मक कुरा सुन्थ्यौँ, तर अहिले त नेपालको प्रशासनिक क्षेत्रको उच्च ओहदामा बस्ने व्यक्तिले पनि आर्थिक, सामाजिक र राजनीतिक स्थितिको बारेमा नकारात्मक सोच राखेका छन् । प्रधानमन्त्री जस्ता व्यक्तिले अहिले देशको अवस्था राजनीतिक, सामाजिक र आर्थिक रुपमा नै राम्रो छैन भनेको हुन्छ । त्यसैले सबैमा नकारात्मक सोच नै बढी छ ।
पहिला नेताहरुले भाषणमा देश विकासका लागि औद्योगिकरण जरुरी छ भन्ने गर्थे । तर, त्यो भाषणमै सिमित भयो, लागू भएन । अहिले आएर उहाँहरु पनि उद्योग विना विकास सम्भव छैन भन्न थाल्नु भएको छ । तर, नेपालका उद्योगहरु धरासायी भएका छन् । यो कुरा साच्चै भित्री मनदेखि नै भनेको हो भने अब केही सकारात्मक तरिकाले जान्छ होला, होइन भने नेपालमा उद्योगको भविष्य छैन ।
साँचो कुरा भन्दा धेरैलाई अप्रिय लाग्छ होला । तर, पञ्चायतकालमा उद्योगलाई राज्यबाट धेरै सहयोग र साथ थियो, विकास पनि भएको थियो । बिग्रिँदै गएको २०५२ साल देखि नै हो, तर अहिले चाहिँ धेरै नै बिग्रियो । यो कुरा सबैले मनन गरेका छन् । त्यसकारण सकारात्मक सोच एउटा वर्गमा आयो भने सम्भवतः अगाडि राम्रो होला कि !
अहिले श्री टेक्सटाईलको उत्पादन र व्यापारको अवस्था कस्तो छ ?
अहिले उद्योग क्षमताको २५ प्रतिशत उत्पादन पनि चल्न गाह्रो भएको छ । किनभने यहाँ बजारको समस्या छ । नेपालमा जति पनि कपडा उद्योगहरु छन्, नेपालमा हुने खपतको १२/१३ प्रतिशत होला । किनभने हाम्रा दुई छिमेकी देश चीन र भारतले संसारभर टेक्सटाइल निर्यात गर्छन् । इजिप्ट र चीनमा कपडा सप्लाई गर्छ ।
यस्तो देशसँग हामीले प्रतिस्पर्धा गर्न सम्भव छैन । उत्पादन क्षेत्रमा भारतको एउटा सानो उद्योगसँग नेपालभर चलिरहेको उद्योग पनि बराबर छैन । हाम्रो सञ्चालन खर्च बढी भएकाले उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । अर्को कुरा मेसिनहरु त्यहीँबाट आउँछ, कच्चा पदार्थ त्यहीँबाट आउँछ । त्यसैले हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्नै सक्दैन । यदि सरकारले केही उत्पादन गर्यो भने हुने हो ।
उत्पादन क्षेत्रमा भारतको एउटा सानो उद्योगसँग नेपालभर चलिरहेको उद्योग पनि बराबर छैन । हाम्रो सञ्चालन खर्च बढी भएकाले उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । अर्को कुरा मेसिनहरु त्यहीँबाट आउँछ, कच्चा पदार्थ त्यहीँबाट आउँछ । त्यसैले हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्नै सक्दैन ।
त्यसको लागि पञ्चायतकालमा केही उत्पादन थियो । हामीलाई भ्याट फ्रि दिएको थियो । यस्तो किसिमको धेरै सुविधा थियो । आवश्यक परेको खण्डमा आयातमा पनि बन्देज लगाउन सक्ने स्थिति थियो । त्यसको उदाहरण भनेको चुरोट कारखाना हो । जनकपुर चुरोट कारखाना आएपछि भारतबाट मात्र नभई कुनै पनि देशबाट चुरोट आयातमा बन्देज लगाइएको थियो ।
हुन त राजनीतिक भर्ति केन्द्र भएर त्यो कारखाना बिग्रियो । तर, त्यसबेलाको सरकारले जनकपुर चुरोट कारखाना बचाउन भारतबाट आयात नै गर्न नपाउने गराएको थियो ।
नेपाल विश्व व्यापार संगठन (डब्लूटिओ) को सदस्य भएको नाताले धेरै कुरामा प्रतिबन्ध लगाउन त गाह्रो छ नि ?
त्यो भन्ने मात्र हो । नेपालमा अहिले गाडीको भन्सार त्यतिकै बढाइरहेको छ, डब्लूटिओको हिसाबले गर्ने हो भने त्यस्तो हुन सक्दैन नि ! कर नै भनेर नलिइकन कुनै पनि हिसाबले संरक्षणका लागि कर लगाउन सकिन्छ । लगाइराखेको पनि छ, कुनै कुनै आइटममा । जस्तो गाडीमै पनि के के गरेर २ सय ५० प्रतिशतसम्म कर लगाइराखेको छ ।
खै त डब्लूटिओ लागू भएको ? टेक्सटाईल उद्योग यसै पनि छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्दैनन्, उनीहरुको मूल्यमा हामीले बेच्न सक्दैन । त्यो बाहेक पनि भारतमा वस्तु तथा सेवा कर (जिएसटी) ५ प्रतिशत छ, हाम्रोमा मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत छ ।
कर नै ८ प्रतिशत कम भएपछि, यसै पनि बोर्डर साइडमा भारतकै किन्न जाने भए । बोर्डर क्षेत्रको मान्छेले नेपालमा कपडा नै किन्दैनन् । भन्सार छलेर गाडीका गाडी कपडा आउँछ, त्यो चोरी होइन, डकैती नै हो । त्यस विषयमा कर्मचारी र राजनेताहरु हाम्रो खुला सिमाना भएर हामीले चोरी पैठारी नियन्त्रण गर्न सकेनौँ भन्छन् ।
सरकारले सकेन भन्न पाउँछ ? नेपालमा कपडा जति खपत हुन्छ त्यसको २० प्रतिशत मात्र भन्सार रेकर्डमा देखिन्छ । यसको मतलब ८० प्रतिशत त चोरी नै भएको ठहरियो । तीन करोड जनतालाई ६ मिटरको हिसाबले पनि १८ करोड कपडा चोरेर ल्याउन सक्छ ? १८ मा २० प्रतिशत गएपछि १३/१४ करोड कपडा चोरी हुन सक्दैन, त्यो डकैती नै हो । यो सबै भएको खुला सिमानाले मात्र होइन ।
अर्को भन्सारमा रेकर्ड भएको जुन २० प्रतिशत कपडा छ, त्यो पनि अन्डर भ्याल्युएसन (तल्लो मूल्य) टाँसेर आउँछ । आजको दिनमा २०/२५ रुपैयाँमा कपडा आउँछ ? भित्री मनबाट नियन्त्रण गर्छु नै भन्यो भने नसक्ने कुरै छैन । कपडा भनेको दोस्रो प्राथमिकतामा छ । पहिलो भनेको खाना नै भयो । जन्मेदेखि मरणसम्म चाहिने सामाग्री भनेको कपडा पनि हो, यसको महत्व र उपयोगिता पनि धेरै छ । यसलाई हेरेर सरकारले कपडा उद्योगलाई चलाउँछु, कपडा उद्योगको जगेर्ना गर्छु, यो उद्योग हामीलाई चाहिन्छ भन्ने सोच सरकारले राख्ने हो भने राम्रो हुन्छ ।
भारत र चीनको भन्दा बढी उत्पादन लागत हुन गयो, हाम्रो प्रविधि कमजोर छ, यो एउटा पाटो भयो । सरकारले के गरिदिए कपडा उद्योग फस्टाउँछ भन्ने लाग्छ ?
आजको संसारमा प्रविधि धेरै छन् । नेपालमा प्रविधि कम हुनुको कारण नै हाम्रो नीति हो । मानौँ भारतबाट कपडा आयात रोक्ने हो भने ६ महिनाभित्र नेपाललाई चाहिने कपडा स्वदेशी उद्योगमा बन्छ । प्रविधि जहाँ पनि त्यहि हो नि ! हाम्रो यहाँ जुन मेसिन छ, भारतमा पनि त्यहि मेसिन चलाउने हो, अलिकति उनीहरुको अपडेट हाई रेन्जको आउँछ । सुरुमा बन्दै त गर्ने होइन ।
एउटा छिमेकी देशबाट कुनै पनि सामान आयात बन्दै गर्ने भनेको नि गाह्रो कुरा हो । एक सय २५ रुपैयाँ भन्दा तलको मूल्यमा कपडा आयात नै गर्न नपाउने व्यवस्था गर्नुपर्छ । कपडा उद्योगले धेरै रोजगारी सिर्जना गर्छ । अन्य उद्योगमा जस्तो एक जना मान्छेले धेरै मात्रामा उत्पादन यो उद्योगमा गर्न सक्दैन । एउटा मेसिनले दिनको ३०/४० मिटर कपडा बुन्छ । हामीले २०८० सालमा सरकारलाई कपडा उद्योगलाई यसरी अघि बढाउन सकिन्छ भन्ने समाधानको मार्गचित्र पनि दिएका थियौँ ।
भारत सरकारले धेरै भन्दा धेरै कपडा उत्पादन होस् भन्ने उद्धेश्यले एउटा मेसिनका लागि यति रुपैयाँ भनेर विद्युत् शुल्क तोकेको छ, त्यो मेसिन जति चलाए पनि बिजुलीको शुल्क एउटै हुन्छ, युनिटसँग मतलब नै छैन । ब्याजदर कम छ । भारतले यसरी टेक्सटाईल उद्योग विकास गरेको हो । नत्र पहिला हामीले यहाँ सुरु गर्दा भारतलाई पनि गाह्रै थियो, निर्यात गर्न सक्ने क्षमता थिएन । त्यो बेलादेखि नै टेक्सटाईल उद्योगको विकासका लागि भारत सरकारले धेरै सहयोग गर्यो ।
भारत सरकारले धेरै भन्दा धेरै कपडा उत्पादन होस् भन्ने उद्धेश्यले एउटा मेसिनका लागि यति रुपैयाँ भनेर विद्युत् शुल्क तोकेको छ, त्यो मेसिन जति चलाए पनि बिजुलीको शुल्क एउटै हुन्छ, युनिटसँग मतलब नै छैन । ब्याजदर कम छ । भारतले यसरी टेक्सटाईल उद्योग विकास गरेको हो । नत्र पहिला हामीले यहाँ सुरु गर्दा भारतलाई पनि गाह्रै थियो, निर्यात गर्न सक्ने क्षमता थिएन ।
मैले आजभन्दा ५० वर्ष पुरानो चीनमा रहेको टेक्सटाईल उद्योग हेरेको थिएँ । त्योबेला देखेको उद्योगमा ब्रिटिसको पालाको मेसिन पनि चलाईराखेको थियो । भन्नुको अर्थ उनीहरुले पनि त विस्तारै विस्तारै सुरु गरेका हुन् नि !
तपाईंले कपडा उद्योगमा समस्या छ भनिरहँदा धागो उद्योग त राम्रोसँग चलिरहेको छ । रिलायन्स, जगदम्बार र जे स्पिनिङ मिलले विदेशमा पनि धागो निर्यात गरिरहेको छ, राम्रो कमाइराखेको छौं भन्छन् नि ?
कहाँ कमाउनु ! धेरै जसो बन्द भइसकेका छन् । यिनीहरुको उत्पादनको पाँच प्रतिशत मात्र नेपालमा खपत हुन्छ होला । तर, उनीहरु कसरी निर्यात गर्छन् त्यो थाहा भएन । यिनीहरुले जुन मूल्यमा निर्यात गर्छन् त्योभन्दा धेरै मूल्यमा हामीलाई बेच्छन् ।
तपाईले यो कुरा धागो उद्योगलाई किन भन्नुहुन्न ?
भनेर के गर्ने ? केही हुँदै हुँदैन । यो कुरा चलिरहेको बीसौँ वर्ष भइसक्यो । त्यसैले त मैले पहिले पनि भनेको नकारात्मक हुँदा हुँदा अब सरकारले पनि मनन गर्ने बेला भइसक्यो ।
पहिलाको तुलनामा श्री टेक्सटाईल उद्योगको अवस्था के छ अहिले ?
अवस्था अहिले खराब छ । यो उद्योग भनेको २४ घण्टा चल्नुपर्छ । भारतमा सानो सानो उद्योग पनि तीन सिफ्ट गरेर २४ घण्टा चल्छ भने यहाँ हाम्रो ८ घण्टा मात्र चल्छ । ८ घण्टा चलाएर पनि २५ प्रतिशत मात्र चल्छ भनेपछि कपडा उद्योगको स्थिति झन्झन् बिग्रिँदै गइरहेको छ ।
नेपाली बजारमा कपडाको माग कम भएको हो ?
माग कम भएको भन्दा पनि भारतबाट चोरीको कपडा आइरहेकै छ । हामी कपडाको निर्यात गर्न तुरुन्त सक्दैनौँ । पहिले भइसकेको पनि थियो । २०४४/०४५ सालतिर नेपालले सुटिङ कपडा निर्यात चीन, अरबियन देशहरुमा गरेको थियो, तर, त्यो हामीले गरेको होइन । अहिले ती उद्योगहरु बन्द भएर गइसके । पहिला विराटनगरमा ठूलाठूला टेक्सटाईल उद्योग एक दर्जन थिए, अहिले एउटा मात्र बाँकी छ ।
औद्योगिक क्षेत्रभित्र पाँच वटा थिए, अहिले हाम्रो एउटा मात्र बाँकी छ । यही स्थिति रह्यो भने हाम्रो पनि कति दिन रहन्छ ? टेक्सटाईल उद्योगको अवस्था नाजुक नै छ । अन्य पनि राम्रो छैन, अहिले त्यस मध्ये पनि टेक्सटाईलमा मार परेको छ । हाम्रै उद्योगमा पहिला सय जनासम्म कामदार थिए, अहिले ३० जना मात्र छन् । व्यापार धेरै खस्किएको छ ।
स्वदेशी उत्पादन सरकारी कार्यलयले किन्ने नीति आएको छ, त्यसले तपाईंको उद्योगलाई केही लाभ दिन्छ होला नि ?
यो कुरा राजा वीरेन्द्रको पालामा यही औद्योगिक क्षेत्रबाट सुरु भएको हो । २०३४ सालतिर तत्कालिन राजा वीरेन्द्र पाटन औद्योगिक क्षेत्रमा सवारी भएको थियो । त्यो समयमा धेरै राम्रो सपोर्ट थियो । त्यो बेला पाटन औद्योगिक क्षेत्रभित्र उत्पादन भएका सामानहरु टेण्डरविना किन्न पाउने भन्ने थियो, जथाभावी मूल्य लिन्छ भनेर त्यसमा एउटा सर्त राखिएको थियो ।
त्यो बेला औद्योगिक क्षेत्र, उद्योग विभाग र उद्योगको प्रतिनिधित्व भएको एउटा कमिटी बनाएर त्यसले मूल्यांकन गर्नुपर्छ भन्ने थियो । त्यति भइसकेपछि उक्त सामान विना टेण्डर कोटेसन सरकारले किन्न पाउने थियो । महंगो सस्तोसँग मतलब नै छैन । यो सिस्टम करिब १० वर्षसम्म चल्यो होला । पछि यही सोच उद्योगीहरुको अनुरोधमा सरकारले गर्न खोज्यो ।
टेण्डर कोटेसन गर्नै पर्ने तर १५ प्रतिशतसम्म महंगो भए पनि नेपाली उत्पादन नै किन्ने भन्ने व्यवस्था गर्यो, तर त्यो लागू हुनै सकेन । अहिले पनि यो कुरा उठेको छ, अहिले अनिवार्य रुपमा सरकारले नेपाली उत्पादन किन्ने भनेको छ, तर यो सम्भव छैन, यिनीहरुले गर्दैनन् । यसमा कर्मचारी, राजनीतिक नेताहरु दुवै दोषी छन् । कर्मचारीले मात्र गल्ती गर्न सक्दैन । कर्मचारीले गल्ती गर्दा माथिल्लो तहले त निगरानी गर्छ नि !
तपाईले प्रोत्साहन र सहयोग छैन भनिरहँदा ठूला ठूला डण्डी, सिमेन्ट उद्योग त आए नेपालमा ?
हो, ठूला ठूला उद्योगको पनि कुरा गरौँ । अहिलेको मन्दि त विश्वव्यापी रुपमा नै भइहाल्यो त्यसकारण पनि नेपाल अछुतो हुने कुरै भएन । अहिले सरकारले साँच्चै केही सहयोग गरेको छ भने ठूलो उद्योगलाई मात्र छ । ठूला उद्योगलाई मात्र साथ दिएर नेपालको विकास हुन्छ भन्नु असम्भव छ ।
साना तथा मझौला उद्योगतर्फ त सरकार लागेकै छैन । नीति निर्माणको तहमा साना उद्योगको पनि प्रतिनिधित्व हुनुपर्छ । हुन त हाम्रो उद्योग वाणिज्य महासंघ छ । तर, त्यहाँ पनि त्यस्तै हो । त्यहाँ पनि ठूला बडा हुने भनेको ठूला उद्योगका नै हुन् ।
साना तथा मझौला उद्योगतर्फ त सरकार लागेकै छैन । नीति निर्माणको तहमा साना उद्योगको पनि प्रतिनिधित्व हुनुपर्छ । हुन त हाम्रो उद्योग वाणिज्य महासंघ छ । तर, त्यहाँ पनि त्यस्तै हो । त्यहाँ पनि ठूला बडा हुने भनेको ठूला उद्योगका नै हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघबाट पनि तपाईहरुलाई सहयोग भएन ?
हुँदै भएन भन्दिन तर जति हुनुपर्ने हो त्यो मात्रामा भएन । साना तथा मझौला उद्योगको लागि बोलिदिएन । गर्नुपर्छ सपोर्ट, साथ सहयोग तर ठूलालाई सँगसँगै साना उद्योगलाई पनि हेर्नुपर्यो । उद्योग वाणिज्य महासंघको सदस्य त हामी नि हो नि ! उहाँहरु हाम्रो पनि प्रतिनिधि हो । उनीहरु अर्बौं रुपैयाँ कारोबार गर्ने हामी करोडको, त्यसैले नीतिगत लबिङ नै पुगेन ।
कपडा उद्योग संघले त लबिङ गरेको होला नि ?
नगरेको होइन, तर गरे पनि लागेन भन्न खोजेको हो । गर्न त गरेको हो नि १५ प्रतिशत महंगो भए पनि खपत गर्ने भनेको होइन ? १५ प्रतिशत नै चाहिँदैन, भारतीय कपडा र हाम्रो कपडामा १५ प्रतिशत फरक नै छैन । १५ प्रतिशत महंगो भयो भने पनि किन्ने भन्यो भने नेपालको पूरै उद्योग चल्छ तर लागू नै गर्नुपर्यो । उनीहरुले भित्रै मनदेखि भनेको भए अब पनि लागू होला ।
यहाँले कपडाको लागि चाहिने कच्चा पदार्थ कहाँबाट ल्याउनुहुन्छ ?
भारतबाट ल्याउछौँ । पहिले हामी सेन्थेटिक बनि बनाउँथ्यौँ, अहिले कटनको मात्र बनाएका छौँ, त्यसलाई चाहिने कच्चा पदार्थ भारतबाट आउँछ । नेपालमा पहिले जस्तो धागो उद्योग पनि छैन, धेरै जसो बन्द भइसके ।
सरकारले तयारी वस्तु र कच्चा वस्तुको भन्सार दर एक तह तलमाथि गरेको छ, त्यसले फाइदा भएको छ होइन ?
त्यो लागू भइरहेको छ । तीन प्रतिशत जति फरक हुन्छ । त्यसले खासै फरक पर्दैन । कच्चा पदार्थमा एक प्रतिशत मात्रै छ, कपडामा त १५ प्रतिशत भन्सार लागु भएको छ ।
उद्योगको क्षमता विस्तारको विषयमा सोच्नुभएको छ ?
क्षमता विस्तारको बारेमा त सोच्नै नसक्ने भइसक्यो नि ! ५० वर्षदेखि काम गरिरहेको क्षेत्रमा त यो स्थिति छ भने अरु उद्योग के हालत होला ।
भोलि लगानी बढाउनु भयो भने त भविष्य देखिन्छ होला नि ?
कपडा उद्योगमा लगानी बढाउने स्थिति छैन । लगानी बढायो भने आईटी वा अन्य क्षेत्रमा बढाइन्छ होला । तर, संसारभर टेक्सटाईलको स्कोप छ किनभने यो भनेको जन्मदेखि मरणसम्म सबैलाई चाहिन वस्तु हो । यस्तो कुराको उत्पादन गर्ने उद्योग नै यस्तो स्थितिमा छ भने अरु उद्योग के होला ?
अहिले नेपालमा कति वटा कपडा उद्योग सञ्चालन छन् ?
धेरै बन्द भइसके, संगठित रुपमा १५ वटा होलान् ।
कपडा उद्योगको नेपालमा भविष्य छैन भन्न खोज्नुभएको हो ?
भविष्य नभएको होइन छ । भएको भविष्यलाई जोगाउन बाहिरबाट आयात हुने कपडामा नियन्त्रण हुनुपर्छ ।
उत्पादन घट्दै छ, लागत बढ्दै छ, उद्योगहरु रुग्ण हुँदै गएका छन् भनेपछि भविष्य खतरामा देखियो नि त ?
त्यो हुनुको कारण भनेको हामीले प्रतिस्पर्धा गर्न सकेनौँ । बाहिरबाट चोरी पैठारी भयो । नेपालमा सबैभन्दा बढी चोरेर ल्याउने सामान भनेको कपडा नै होला ।
चोरी पैठारी मात्रै रोक्न सके मात्रै अहिलेको चार गुणा उद्योग तुरुन्त बढ्छन् । अर्को भनेको १३ प्रतिशत भ्याट । २०७५ सालसम्म हामीलाई त्यो भ्याट छुट थियो । पहिला पनि उद्योग बन्द हुने स्थिति देखिएपछि त्यो भ्याट छुट दिइएको थियो तर पुनः लागू गर्दियो ।
त्यसपछि झन् झन् अप्ठ्यारो हुँदै गएको हो । नेपालमा नीति राम्रो नभएरै उद्योगहरु बिग्रिए । तर, उद्योग विना मुलुकको विकास असम्भव नै छ ।
भिडियो हेर्नुहोस् :