मुगु । चिसोले कष्टकर जीवन बिताइरहेका मुगुका वृद्द, बालबालिका, महिला, दलितलगायत पिछडीएका समुदायलाई फाइबर सिरक र नारायण सेवा भोजन सहयोग सामग्री उपलब्ध गराइएको छ ।
मुगुमा चिसो बढ्दै गएपछि विपन्न वर्गका नागरिकको स्वास्थ्य सुरक्षाका लागि जिल्लाको ओम सत्य साइराम भजन केन्द्र मुगुको सहजीकरणमा न्यानो फाईबर सिरक र नारायण सेवा भोजन सहयोग सामग्री उपलब्ध गराइएको हो।
ओम सत्य साइराम काठमाडौंको सहयोगमा मुगु जिल्लाका १ सय ५ जना विपन्न परिवारका नागरिकलाई न्यानो फाईबर सिरक र नारायण सेवा भोजन उपलब्ध गराइएको समाजसेवी चेतना मल्ल शाहीले बताइन् ।
विश्व हिन्दु महासंघ, सनातन हिन्दु महासंघकी केन्द्रीय सदस्य र ओम सत्य साइरामकी जिल्ला अध्यक्ष समेत रहेकी शाहीका अनुसार जिल्लामा अत्याधिक चिसो बढेकोले यहाँका विपन्न वर्गलाई चिसो छल्नका लागि न्यानो फाईबर सिरक र नारायण सेवा भोजन वितरण गरिएको हो।
उनले भनिन्, ‘चिसो समयमा न्यानो सिरक वितरण गर्दा एकल महिला र जेष्ठ नागरिक र बालबालिकालाई राहत पुगेको छ ।’
आर्थिक अवस्थामा कमजोर भएका नागरिक र एकल महिला तथा ६० वर्षमाथि पुगेका ज्येष्ठ नागरिकलाई न्यानो फाईबर सिरक वितरण गरेको धार्मिक तथा समाजसेवी शाहीले बताइन् ।
बिगत लामो समयदेखि सामाजिक सेवामा लागेकी धार्मिक अगुवा शाहीले जिल्लाका विपन्न वर्गलाई फाईबर सिरक तथा नारायण सेवा भोजन उपलब्ध गराउँदै आएकी छन् । साथै उनी पिछडीएका समुदायलाई सेवा मुलक, शशक्तिकरण एवम् स्थानीय रैथाने वाली संरक्षणमा समेत कार्य गर्दै आएकी छन् ।