काठमाडौं । चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार बढेर ६३ खर्ब रुपैयाँ पुगेको अनुमान सरकारले गरेको छ । अर्थ मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवत्ता तथा सहसचिव महेश भट्टराईले अर्थतन्त्रको आकार बढेर ६३ खर्ब रुपैयाँ पुगेको अनुमान सार्वजनिक गरेका छन् ।
‘गत वर्षको भन्दा यो वर्ष अर्थतन्त्रको आकार बढेर ६३ अर्ब पुगेको अनुमान छ’ उनले भने । भट्टराईका अनुसार अर्थतन्त्रको आकार ५ खर्बदेखि ६ खर्ब रुपैयाँ हाराहारीमा बढेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले गत वैशाखमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको जानकारी दिएको थियो । अघिल्लो वर्ष अर्थतन्त्रको आकार ४८ खर्ब ५३ अर्ब रुपैयाँ थियो । एक वर्षमा अर्थतन्त्रको आकार साढे ८ खर्ब रुपैयाँ बढेको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान गरिएको थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रहने अन्तिम विवरण सार्वजनिक गरिएको थियो । कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा आर्थिक वृद्धि ३.४ प्रतिशत भएको छ । अघिल्लो वर्ष ३.६ प्रतिशत थियो ।
विश्व बैंकले चालू आर्थिक वर्ष २०८१/८२ मा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ । सरकारले चालू आर्थिक वर्षमा साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।
अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छ भने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत तथा ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ । यो क्षेत्र २१ दशमलव चार प्रतिशतले बढेको छ । यातायात तथा गोदाम क्षेत्र छ दशमलव सात प्रतिशत योगदान रहेको छ ।
पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्र छ दशमलव तीन, वित्तीय तथा बिमा क्षेत्र पाँच दशमलव सात, प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव चार र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने अनुमान छ । धानलगायतका वर्खे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदेबाली र पशुपंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कूल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको जनाइएको छ ।
समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षाका कारण कृषिजन्य उत्पादनमा वृद्धि हुने अपेक्षा गरिए पनि बाढी र पहिरोका कारण कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसकेको हो ।
आकारका आधारमा नेपालको अर्थतन्त्र विश्वको ९९ औं ठूलो रहेको छ । नेपालको अर्थतन्त्र आकार बढेर ४७ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ । यसअघि सन् २०२२ मा नेपालको अर्थतन्त्रको आकार ३९ अर्ब अमेरिकी डलर थियो । नेपाल विश्वको दोस्रो ठूलो चीन र पाँचौं ठूलो अर्थतन्त्र भारतको बीचमा छ ।
नेपालभन्दा अघि ९८ औं स्थानमा अफ्रिकी मुलुक लिविया छ । लिवियाको अर्थतन्त्र ४८ अर्ब डलर रहेको छ । नेपाल भन्दा पछि १०० औं स्थानमा ल्याटिन अमेरिकी मुलुक पारग्वे रहेको छ । पारग्वेको अर्थतन्त्र आकार नेपाल भन्दा कम ४६ अर्ब ८० करोड डलर छ ।
याे पनि :
त्रैमासिक समीक्षा : आर्थिक वृद्धि ३.४ प्रतिशतमा सीमित
आर्थिक वृद्धि ३.८७ प्रतिशत, अर्थतन्त्रको आकार बढेर पुग्यो ५७ खर्ब