logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • नेपालमा भारतको प्रजोल इनर्जीको प्रवेश, गोल्यानसँगको साझेदारीमा ५०० मेगावाट बिजुली उत्पादन

    नेपालमा भारतको प्रजोल इनर्जीको प्रवेश, गोल्यानसँगको साझेदारीमा ५०० मेगावाट बिजुली उत्पादन

    371
    Shares
    नेपालमा भारतको प्रजोल इनर्जीको प्रवेश, गोल्यानसँगको साझेदारीमा ५०० मेगावाट बिजुली उत्पादन

    काठमाडौं । जलविद्युतमा भारतीय लगानी बढिरहेका बेला चर्चित सोलार कम्पनी प्रजोल ग्रिन इनर्जीको नेपालमा प्रवेश भएको छ । व्यवसायिक समूह गोल्यान ग्रुपको साझेदारीमा प्रजोल ग्रिन इनर्जी नेपालमा प्रवेश गरेको हो । गोल्यान ग्रुपले प्रजोलसँग साझेदारीमा नेपालमा सोलार प्लान्टबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भएको छ ।

    गोल्यान ग्रुपले भारतको अहमदाबादस्थित प्रोजेल ग्रीनसँग गत भदौको अन्तिम साता काठमाडौंमा संयुक्त लगानीमा सोलार प्रविधिबाट ५ सय मेगावाट बिजुली उत्पादनको सम्झौता गरेको थियो । सम्झौतामा प्रोजेल ग्रीनका निर्देशक शोभित राई र गोल्यान पावरका निर्देशक अक्षय गोल्यानले हस्ताक्षर गरेका थिए । संयुक्त लगानीमा सौर्य परियोजना बनाउन दुबै कम्पनीले संयुक्त उद्यम (जेभी) सम्झौतामा हस्ताक्षरका साथै कम्पनी स्थापना भइसकेको छ ।

    संयुक्त उद्यम प्रोजेल ग्रीन इनर्जीले नेपालका विभिन्न स्थानमा आउँदो दुई वर्षमा ५ सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरुबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । जेभी परियोजनामा प्रोजेल ग्रीन इनर्जीको ६० प्रतिशत र बाँकी ४० प्रतिशत गोल्यान ग्रुपको स्वामित्व हुने भएको छ ।

    प्रजोल इनर्जीले सोलार प्रविधिबाट भारतमा २ हजार मेगावाट विद्युतीय ऊर्जा उत्पादन गरिसकेको छ । प्रजोल भारतको ठूलो इपिसी ऊर्जा कम्पनी हो । प्रजोलले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडमा ९ मेगावाटको रुफटप सोलार जडान गरिसकेको छ ।

    उत्पादन तथा प्रशोधन, वित्तीय सेवा, हस्पिटालिटी तथा निर्माण र जलविद्युतलगायत नविकरणीय ऊर्जामा गोल्यान ग्रुपले लगानी विस्तार गरिरहेको छ ।

    यसअघि ग्रुपले भारतकै रिनेगो डेभलपर्सको साझेदारीमा नेपालगञ्जमा २० मेगावाटको सोलार प्लान्ट स्थापना गरी बिजुली उत्पादन गरिरहेको छ ।

    संयुक्त उद्यमले सौर्य रूफटप र ग्राउन्ड माउन्टेड फोटोभोल्टिक (पीभी) सौर्य प्लान्टहरू विकास गर्ने भएको छ ।

    यी आयोजनाबाट उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरण र विभिन्न व्यावसायिक तथा औद्योगिक उपभोक्तालाई बिक्री गरिने भएको छ । विद्युत प्राधिकरणले सोलारको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) को आधार दर प्रति युनिट ५.९४ रुपैयाँ तोकेको छ । पिपिए गर्ने कम्पनीले यो भन्दा कम दर प्रस्ताव गर्नुपर्ने हुन्छ ।

    सम्झौताअनुसार प्रोजेल ग्रीन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा आफ्नो व्यापक विशेषज्ञता प्रयोग गर्दै इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (इपिसी) मोडलमा विकास कम्पनीको नेतृत्व गर्ने भएको छ ।

    गोल्यान ग्रुपले बाँके रैनापुरमा २० मेगावाट क्षमतायुक्त सोलार प्रविधिबाट ऊर्जा उत्पादन गरिरहेको छ । १०/१० मेगावाट गरी दुई चरणमा निर्माण भएको सोलार परियोजनामा ग्रुपले २ अर्ब २४ करोड ८६ लाख रुपैयाँ लगानी गरेको जनाएको छ ।

    सोलारबाट बिजुली उत्पादन गर्न प्रति मेगावाट लागत ११ करोड २४ लाख ३० हजार रुपैयाँ परेको छ । प्योर इनर्जी लिमिटेडमार्फत परियोजना निर्माण भएको हो । सोलार परियोजनामा ६७ प्रतिशत ऋण र बाँकी ३३ प्रतिशत संस्थापकहरूको स्वपुँजी लगानी रहने छ ।

    गोल्यान ग्रुपको रिलायन्स स्पिनिङ मिल्स, ह्यात सेन्ट्रिक होटल, जनता एग्रो फरेष्ट्री, माटो ब्रान्डको पानी र खाद्यन्न, एनएमबी बैंक, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा लगानी रहेको छ ।

    पछिल्लो समयमा ऊर्जामा आक्रमक रुपमा लगानी विस्तार गरेको ग्रुपले अहिले ३ सय ६ मेगावाटको अपर मुगु कर्णाली, ४६ मेगावाटको अपर बलेफी, १ सय ३५ नमलान खोला र ५४ मेगावाटको लोअर अप्सुवा खोला आयोजना बनाउने तयारी गरेको छ । लुम्बिनीमा ४ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल वेद बनाउँदै छ ।

    यस्तै गोल्यानको शिवम प्लास्टिक इन्डष्ट्रिज, ट्राइकोट इन्डष्ट्रिजका साथै वेस्टार प्रोपर्टीज अपार्टमेन्ट निर्माण गरिसकेको छ ।

    यो पनि : 

    गोल्यान ग्रुपले भारतको प्रोजेल इनर्जीको साझेदारीमा सोलारबाट ५०० मेगावाट बिजुली उत्पादन गर्ने


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend