logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु

    कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु

    5.7K
    Shares

    काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो ।

    गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको संख्या ३२७ पुगेको प्रेस संयोजक, कोभिड– १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली सङ्घका संयोजक चिरन शर्माले जानकारी दिए ।

    सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५३ हजार ४३२ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यस साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

    यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ९९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६९ हजार १८० जना छन् भने दुई लाख ६३ हजार ७३४ जना अर्थात् ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

    एक सातामा औसतमा दुई हजार नेपाली संक्रमित

    गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार नेपाली सङ्क्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली सङ्क्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिए ।

    सोही अवधिमा औसतमा एक महिनाको अवधिमा चार हजार सङ्क्रमणमुक्त हुने आंकलन गरिएको डा. सापकोटाले बताए । स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान शुरु भइसके पनि नेपाललगायतका नेपाली भएका कैयौं मुलुकमा खोप अभियान शुरु नभएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend