काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज परेको भारतको ७६ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएकामा भारतीय विदेशमन्त्री डा एस जयशंकरले मन्त्री डा राणालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
मन्त्री डा राणाले गणतन्त्र दिवसका अवसरमा आज आफ्ना भारतीय समकक्षी एस जयशंकंरमार्फत भारतीय जनता र भारत सरकारलाई बधाई तथा शुभकामना दिँदै भारतको निरन्तर प्रगति, समृद्धि र उन्नतिको कामना गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री डा राणाले सामाजिक सञ्जालमार्फत भारतसँग नेपालको घनिष्ठ छिमेकीका रुपमा सदियौँदेखि पारस्परिक सम्मान र बलियो मित्रता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यो सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।
सो शुभकामना सन्देशप्रति भारतीय विदेशमन्त्री डा एस जयशंकरले धन्यवाद ज्ञापन गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा न्यानो शुभकामनाका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धेरै धन्यवाद भनेर लेख्नुभएको छ ।