विराटनगर । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले सहकारी क्षेत्रलाई सरकारले नियन्त्रण गर्ने नभई सहकार्य, समन्वय र सहजीकरणमार्फत अघि बढाउने बताएका छन् ।
उनले सहकारीप्रतिको जनविश्वास विस्तारै फर्किन थालेको दाबी गर्दै सरकार विश्वास पुनःस्थापनाका लागि आवश्यक सहयोगमा केन्द्रित रहेको बताए ।
मन्त्रालयको आयोजना तथा जिल्ला सहकारी संघ मोरङको समन्वयमा मंगलबार विराटनगरमा आयोजित पालिका स्तरीय सरोकारवालासँगको सहकारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री मन्सुरीले केही सहकारीमा देखिएका समस्याका कारण समग्र सहकारी अभियानलाई नकारात्मक रूपमा चित्रण गर्नु उचित नहुने धारणा राखे ।
उनका अनुसार पछिल्लो समय बचतकर्ताहरू सहकारीको वास्तविक अवस्था बुझ्न थालेका छन् र सहकारीप्रतिको विश्वास पनि बिस्तारै पुनःस्थापित हुँदै गएको छ ।
“सहकारीप्रति केही समय अविश्वासको अवस्था देखिएको थियो । अहिले विस्तारै सुधार भइरहेको छ । बचतकर्ताहरू पनि सहकारीका विषयमा बुझ्दै गएका छन् । यो सकारात्मक संकेत हो,” मन्त्री मन्सुरीले भने ।
कार्यक्रममा उद्योग तथा सहकारी विकास महाशाखाका प्रमुख पदमबहादुर ठकुराठीले समस्याग्रस्त अम्बेकोशी सहकारीका बचतकर्तालाई हालसम्म पाँच करोड रुपैयाँ फिर्ता गरिएको जानकारी दिए ।

उनका अनुसार सहकारीबाट अझै ४१ करोड रुपैयाँ ऋण असुल गर्न बाँकी छ भने ३० करोड रुपैयाँ बराबरको मागदाबी परेको छ । ऋणीहरूको नाम सार्वजनिक गर्नुका साथै बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइएकाले धेरै ऋणी सम्पर्कमा आउन थालेको उनले बताए ।
ठकुराठीले केही व्यक्तिको गैरजिम्मेवार गतिविधिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको उल्लेख गर्दै अब अनुगमन र नियमनलाई थप प्रभावकारी बनाइने बताए ।
कार्यक्रममा प्रदेश बचत संघका अध्यक्ष डिल्ली पोखरेल, जिल्ला सहकारी संघ मोरङका सचिव अमृत गुरुङ तथा सहकारी अभियन्ता लक्ष्मी सापकोटाले सहकारी अभियानमा देखिएका समस्या सीमित भए पनि त्यसको नकारात्मक प्रचार अत्यधिक भएको टिप्पणी गरे ।
उनीहरूले सहकारीलाई व्यवस्थित बनाउने नाममा कानुनी व्यवस्था थप जटिल बन्दै गएको भन्दै नीति निर्माण गर्दा सहकारी क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस