logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • ऊर्जामन्त्री खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको भेट, के भयो छलफल ?

    ऊर्जामन्त्री खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको भेट, के भयो छलफल ?

    266
    Shares
    ऊर्जामन्त्री खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको भेट, के भयो छलफल ?

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् ।

    सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपालले सुक्खा महिनामा भारतबाट प्राप्त विद्युत्ले यहाँको विद्युत् अभावलाई कम गर्न सघाउ पुर्याएको भन्दै भारत सरकारलाई धन्यवाद दिए ।

    उनले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याएको धारणा राखे ।

    ऊर्जामन्त्री खड्काले भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिसकेको बताए । सरकारले लिएको ऊर्जा विकासको लक्ष्य हासिल गर्न दुई देशबीच आपसी सहयोग, समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

    ऊर्जामन्त्री खड्काले गत अक्टोबर ३ मा नेपाल, भारत र बङ्गलादेशबीच भएको त्रिपक्षीय विद्युत् बिक्री सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासका लागि मात्र नभई दक्षिण एसियाकै लागि एक ऐतिहासिक उपलब्धि भएको बताए । उनले भर्खरै नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत सह–सचिवस्तरीय बैठकले दुईवटा उच्च भोल्टेजका अन्तरदेशीय प्रसारण लाइनको निर्माण प्रारूपमा सहमति गरेकामा खुसी व्यक्त गरे ।

    मन्त्री खड्काले महाकाली सिँचाइका लागि टनकपुर मुख्य नहरबाट १० क्युमेक पानी छाड्न भारतले छिटो पहल गरिदिने विश्वास व्यक्त गरे ।

    भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले नेपालको जलविद्युत् क्षेत्रमा भारतले लगानी गर्न चाहेको भन्दै लगानीको उचित वातावरण निर्माण गर्न आग्रह गरे । उनले अपर कर्णाली, पञ्चेश्वरलगायतका जलविद्युत् आयोजनाको चाँडो विस्तृत परियोजना प्रतिवेदन टुङ्ग्याउन आग्रह गरेको भेटमा सहभागी मन्त्री खड्काका निजी सचिव मनोज पन्थले जानकारी दिए ।

    यस्तै, भारतले निर्माण गरिरहेको अपर अरुण आयोजनाको कामलाई समेत सहजीकरण गर्न उनले आग्रह गरेका थिए ।

    भेटमा मन्त्रालयकी सचिव सरिता दवाडी, वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीलगायत नेपालस्थित भारतीय राजदूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend