२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सरकारले ल्याएको अध्यादेशले आर्थिक ‘रिफर्म’का काममा उद्योगीलाई उत्प्रेरित गरेको छ : अध्यक्ष ढकाल

बुधवार , माघ १६, २०८१

काठमाडौं । नेपालका उद्योगी–व्यवसायीहरुले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रबद्र्धनका लागि लगानीको सहज वातावरणका साथै कानुनी जटिलताहरु हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सेसनमा बोल्ने वक्ताहरुले सरकारले लगानीका लागि भइरहेका कानुनी जटिलता हटाउनुपर्ने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीहरुलाई सहज भएको बताएका हुन् । उनले भने, “सरकारले ल्याएको अध्यादेश महत्वपूर्ण छ । यसले धेरै आर्थिक ‘रिफर्म’का कामका लागि उद्योगीलाई उत्प्रेरित गरेको छ । यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु ।”

उनले उद्योग वाणिज्य महासंघले सबैलाई समेट्न नसक्ने भएकोले राजनीतिक दलहरुले गर्ने यस्ता नवप्रवर्तनका कामहरुलाई प्रोत्साहन गर्न सकेकोमा युवाहरुलाई लगानी र स्टार्टतर्फ आकर्षित गर्न सकिने बताएका छन् । उनले कांग्रेसले आयोजना गरेको यस कार्यक्रमले धेरै युवाहरुलाइ उधम क्षेत्रमा प्रबेश गर्न महत्वपूर्ण भूमिका खेल्नेसमेत बताएका छन् ।

काम गर्ने इमानदारीता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न असम्भव नभएको उल्लेख गर्दै अध्यक्ष ढकालले भने, “यो श्रेणीमा आउन मलाइ ४० बर्ष लाग्यो । पहिला चुनौती थियो अहिले धेरै सहज छ । अहिले बैंक र बित्तीय संस्थाले सहज रुपमा ऋण लिन सकिने व्यवस्था गरेका छन् । विभिन्न समिटहरु भइरहेका छन । त्यसबाट सहजै अवसर लिन सकिने अवस्था छ ।”

त्यसैगरी नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । उनले भनिन्, “सहज ढंगले उद्योग व्यवसाय गर्नका लागि आर्थिक नेटवर्किङ धेरै महत्वपूर्ण भएकाले बैंक बित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरुको लागि विश्वास गर्नुपर्छ । जबसम्म हामीले नेपालमै उत्पादित सामग्रीको प्रयोग गर्न सक्दैनौं तबसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौं । सुरुमा आफूले आफैंलाइ विश्वास गर्न सक्नुपर्छ ।”

नेपाल महिला उद्यमी महासंघमा ५५ सय महिला उद्यमीहरु आवद्ध छन् । र देशभर लाखौं उद्यमीहरुलाई यसमा जोडन भुमिका खेलेको अध्यक्ष ज्ञवालीले बताएकी हुन् ।

नेपालमा महिलाहरु आफैं आत्मनिर्भर बनेर अगाडि बढ्नको लागि निरन्तर प्रयत्न गरिरहेको समेत उनले बताइन् । उनले थपिन्, “हामीले राज्यलाई भनेका छौँ र ५२ प्रतिशत महिला छौँ । हामी ५० प्रतिशत अधिकार राजनीति वा व्यवसायिक जीवनमा पनि प्रयोग गर्न चाहन्छैं र त्यसका लागि अबसर दिनुपर्छ ।”

विजनेस अक्सिजनका सीईओ सिद्धान्त राज पान्डेले विदेशीने युवाहरुलाई नेपालमा नै राख्नका लागि सहज लगानीको वातावरण र कानुनी झन्झटहरुबाट मुक्त गरिनुपर्ने बताए । उनले भने, “नेपालमा युवा पुस्ताले साइड विजनेस गरेर लाखौँ कमाइरहेका छन् । केही नभएको भन्ने होइन तर युवा पुस्तालाई विदेशीनबाट रोक्नका लागि लगानीमा सहजीकरण र कानुनी अड्चनहरु फुकाउनुपर्ने देखिन्छ ।”

उनले वैकल्पिक लगानीलाई खुला गर्नुपर्नेसमेत तर्क गरेका छन् । उनले भने, “हामीले वैैकल्पिक लगानीलाई पनि खुला गर्न आवश्यक छ, जसका कारण बैंक तथा बित्तीय संस्थासँग मात्र भर पर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस् ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तिय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख बताएका छन् । उनले भने, “निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवपवर्तनलाई बढावा दिने कानुनी सहजीकरण गर्न सकेको अवस्थामा मुलुकको अर्थतन्त्र चापमा पर्दैन ।

उनले सकारात्मक सोचसहित व्यवसाय गर्नको लागि युवा वर्गलाइ जागृत गर्नसके आर्थिक परिवर्तन सम्भव भएकोसमेत बताएका छन् ।

२७ वर्षदेखि निरन्तर उद्यमशीलताका क्षेत्रमा काम गरिरहेका औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेश कुमार गुप्ताले पछिल्लो समय स्टार्टअपको दायरा बढ्दै गएको बताएका छन् । उनले भने, “केही वर्षयतादेखि स्टार्टअपको दायरा फराकिलो बन्दै गएको छ । हामीले निरन्तर उद्यमी नहुउन्जेल फलो गरिरहेका छौँ । गत वर्षदेखि हामीले स्टार्टअप कर्जासहितको नीति अगाडि बढाएका छौं । आगामी दिनमा यो क्षेत्र झनै फराकिलो बनेर अगाडी बढने आधार तयार भइरहेका छन् ।”

उद्यमशीलताको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले भने, “सरकारले उद्योगी व्यवसायीको लागि कानुनी व्यवस्थाको सहजीकरण गर्ने हो भने युवाहरु व्यवसायिक क्षेत्रमा प्रवेश गर्न असहज छैन ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट