२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

म्याग्दी पुगेर प्रचण्डले भने- 'पूर्वाधार र पर्यटन विकासमा मेरो जोड'

मंगलवार , माघ २२, २०८१

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् ।

बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा आज विहान आयोजित कार्यक्रममा उनले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने बताए। “छ वर्षअघि पनि म यहाँको तातोपानी कुण्डमा परिवारसहित आएको थिएँ”, उनले बताए, “त्यसबेला यहाँहरूले उठाउनुभएको बेनी–दरवाङ–ढोरपाटन सडक, तातोपानी कुण्डको संरक्षण, प्रवर्द्धन र नदी नियन्त्रणसम्बन्धी केही योजनामा बजेट व्यवस्थापन गरेर थालेका कामलाई निरन्तरता दिएका छौँ ।”

पूर्वप्रधानमन्त्री दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको दुई करोड रुपैयाँ बजेटबाट १० करोड रुपैयाँको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकामा खुसी व्यक्त गरे ।

उनले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान), सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिंगा र तातोपानीको विकास निर्माणलगायत विषयमा जानकारी गराएका थिए ।

साथै अध्यक्ष दाहालले बेनी नगरपालिका–४ ठूलोखोला, सिंगा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गरेका छन् । सो क्रममा अध्यक्ष दाहालले सहिद परिवारको अवस्थाका बारेमा जानकारी लिनुका साथै सहिदहरूको योगदानको सधैँ उच्च मूल्यांकन हुने बताए ।

सिंगामा स्थानीय किसानले प्रचण्डसँग गुनासो गरेका थिए । किसानले कृषिलाई प्रविधियुक्त, बजारमा सहज पहुँच र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाउन माग गरेका थिए ।

सो क्रममा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा कृषि अनुदानका लागि सात अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जनाउँदै त्यसको कार्यान्वयनका अवस्थाबारेमा सरकारको ध्यानाकर्षण गराउने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट