आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अमेरिकामा डोनाल्ड ट्रम्पको उदयले कमजोर बन्दै विश्व अर्थतन्त्र, डलर र सुनको भाउ उकालो

अमेरिकामा डोनाल्ड ट्रम्पको उदयले कमजोर बन्दै विश्व अर्थतन्त्र, डलर र सुनको भाउ उकालो

काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्पको उदयसँगै विश्व अर्थतन्त्रमा ठूलो असर पर्न थालेको छ । अहिले डलर झनै बलियो हुन पुगेको छ भने सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यस्तै क्रिप्टोकरेन्सी र सेयर बजारको ग्राफ उकालो लागेको छ ।

ट्रम्पले लिएको नयाँ भन्सार नीतिले छिमेकी भारत र चीनको अर्थतन्त्र कमजोर बनेको छ । भारतको अर्थतन्त्र कमजोर बनेपछि यसको असर नेपालमा पनि पर्न थालेको छ । भारतको अर्थतन्त्र कमजोर बन्दा डलर झनै मजवुत हुन पुगेको छ भने डलर कमजोर हुँदै गएको छ । भारु कमजोर हुँदा यसको असर नेपालमा परेको छ ।

ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनासाथ विश्वको सेयर बजार र क्रिप्टोकरेन्सीको भाउ आकासिएको थियो । अहिले डलर महंगीको असर नेपाल र भारतलगायत विश्वभरी परेको छ । यसको बढी असर उदीयमान अर्थतन्त्रमा परेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १ डलर किन्न अब १३९.८० रुपैयाँ चाहिने भएको छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनासाथ डलर महंगिएर १३५.१६ रुपैयाँ पुगेको थियो । गत कात्तिक २१ गतेदेखि डलरको ग्राफ निरन्तर उकालो लागेको छ । डेढ महिनाको बीचमा डलरसँग रुपैयाँ झण्डै ५ रुपैयाँ कमजोर बनेको छ ।

भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । मंगलबार १ डलरबराबर ८७.११ भारु पुगेको छ । डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो ।

भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ ।

भारतमा डलर सञ्चिती बढेर ७ खर्ब डलर कटेको थियो । अहिले डलर सञ्चिती निरन्तर घटेर ६ खर्ब २२ अर्ब डलरमा झरेको छ । यसबीचमा ८० अर्ब डलर सञ्चिती घटेको छ । भारतजस्ता उदीयमान देशबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ । डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन बल पुगेको हो । विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ ।

डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने छ । नेपालमा विदेशी मुद्रा सञ्चितीले नयाँ रेकर्ड राखेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड रहेको छ । १४ महिनाको वस्तु तथा सेवा आयात धान्ने सञ्चिती रहेको छ ।

यस्तै पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउने छन् ।

डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ ।

डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ । यसैगरी विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने छ ।

सुनको भाउ औंसको २८१८ डलर पुग्यो

राष्ट्रपति ट्रम्पको भन्सार नीतिले गर्दा विश्व बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै १ हजार ९ सय रुपैयाँ बढेको हो । हिजो स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा १ हजार ९०० रुपैयाँ बढेर तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले लिएको नीतिले विश्वमा सुनको भाउ उकालो लागेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउछन् । क्यानाडा, मेक्सिको र चीनलगायत मुलकलाई भन्सार दर बढाउने घोषणा गरेपछि यसको असर सुन बजारमा परेको उनको भनाई छ । विश्व बजारमा सुनको भाउ प्रति आउन्स २८ सय १८ डलर पुगेको छ ।

ट्रम्पले थप भन्सार शुल्क लगाउँदा अन्य मुलुकको अर्थतन्त्र कमजोर बनेको अर्थशास्त्री नरबहादुर थापा बताउँछन् । ‘ट्रम्पको उदयपछि अमेरिकाको अर्थतन्त्र बलियो भएको छ । ट्रम्पले लिएका आर्थिक नीतिका कारण भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको छ । लगानीकर्ताका लागि अन्य मुलुक भन्दा पनि अमेरिका सुरक्षित हुँदै गएको देखियो’ उनले सुनौलो नेपालसँग भने ‘भारतीय अर्थतन्त्र कमजोर हुन गयो र भारु पनि कमजोर भइरहेको छ ।’

भारतको अर्थतन्त्र कमजोर बन्नुको एउटा कारण ट्रम्पले लिएको भन्सार नीति हो भने अर्को उनीहरुको आन्तरिक कारणहरु पनि हुनसक्ने उनको भनाई छ ।

अर्थशास्त्री थापाका अनुसार भारतमा भएको ‘पोर्टफोलियो’ लगानी अमेरिकातिर जाँदा त्यहाँ डलर सञ्चिती घट्दै गएको छ । भारतको आर्थिक वृद्धि ६.३ प्रतिशत मात्र हुने देखिएको छ । यो हिसाले भारु कमजोर हुँदै गए नेपाली रुपैयाँ १५० पुग्न धेरै समय नलाग्ने थापाको भनाई छ ।

भारतको अर्थतन्त्र कमजोर बन्यो : डा. चन्द्रमणि अधिकारी

बैदेशिक मुद्राको सन्दर्भमा भारतमा अन्तर्राष्ट्रिय प्रभाव छ र केही आफ्नै कारण पनि होला । पछिल्लो केही वर्षमा ठूला ठूला पूर्वाधार बनाउन त पैसा खर्च भयो । तर, ग्रामीण भेगमा कृषिको क्षेत्रमा चाहिने पूर्वाधारमा कम खर्च भयो । सहरी क्षेत्रमा पनि साना मझौला उद्योगहरुलाई दिनुपर्ने सुविधा सरकारले दिन सकेन ।

अर्को भनेको, अहिले मेसिनले गर्ने काम बढ्दै गएको छ । हामीले हेर्दा त कतिपय विश्वविद्यालयहरु राम्रा पनि छन्, प्राविधिक संस्थाहरु राम्रा पनि छन् । तर, भारतको जनसंख्याको हिसाबले हेर्ने हो भने त्यहाँको पनि शिक्षा प्रणाली त्यति उत्पादनमूलक भने छैन ।

त्यस्तै अन्तर्राष्ट्रिय भू–राजनीतिले गर्दा आपूर्ति प्रणालीमा पनि असर गर्यो । लकडाउनदेखि नै भारतको अर्थतन्त्र अलिकति सुस्त भएको हो । किनभने ठूलो श्रम शक्ति यताउती परे । त्यतिबेला बन्द भएका कतिपय उद्योग व्यवसाय पुनःखुलेनन् ।

साथसाथै, अमेरिकामा डोनाल्ड ट्रम्प आउने र अमेरिकामा ब्याजदर बढेपछि लगानीकर्ताहरुले पोर्टफोलियो इन्भेस्टमेन्टहरु झिक्दै उतै लगे । किनभने, लगानी गर्ने मान्छेहरु जता ब्याजदर बढी पाउँछ त्यहाँ जाने हो । जसले गर्दा वैदेशिक मुद्राको सञ्चिती पनि घट्यो ।

यद्यपी, भारतसँग ११ महिनालाई पुग्ने विदेशी विनिमय सञ्चिती छ । भारतकै उद्योगपतिहरुले पनि आफ्नो ‘मार्जिनल’ नाफा विदेशमा लगेर लगानी गर्दिन थाले जसले गर्दा व्यक्तिको क्रयशक्ति घट्यो । क्रयशक्ति जब घट्छ, स्थानीय निर्माण क्षेत्र पनि सुस्त भएर गयो । खास गरी अटो क्षेत्र सुस्त भयो ।

कृषि क्षेत्रको नीतिमा भएको फेरबदलले कतिपय किसानहरुले ऋण तिर्न नसक्ने अवस्था पनि भयो । यीनै कारणहरुले गर्दा भारतमा पनि समस्या आयो । कुल ग्राहस्र्थ उत्पादन (जिडिपी) मा कृषिको योगदान १८ प्रतिशत छ भन्छ ।

४७ प्रतिशत जनसंख्याले कृषि कर्म गर्छन् भनेपछि त्यो क्षेत्रमा घनिभूत रुपमा गरिबी रह्यो । सहरी क्षेत्रमा पनि मान्छेको आम्दानी बढेन, माग हुन सकेन । गाउँमा पनि त्यो रहि नै राख्यो, जसले गर्दा पनि भारतको अर्थतन्त्रमा असर परेको देखिन्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend