काठमाडौं । विश्वमै सबैभन्दा धेरै मानिसको जमघट भएको महाकुम्भ मेलामा नेपाली भक्तजनहरूको समेत बाक्लो उपस्थिति हुन थालेको छ ।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेला गत पौष २९ गते शुरु भएर आगामी फाल्गुन १४ अर्थात महाशिवरात्रीसम्म चल्ने मेलामा नेपाली श्रद्धालु भक्तजनहरूको निकै राम्रो आकर्षण देखिएको छ ।
हिन्दू धर्मको सबैभन्दा महत्त्वपूर्ण आध्यात्मिक तथा सांस्कृतिक धरोहर बनेको मेलामा विश्वभरका करिव ४० करोड श्रद्धालु भक्तजनहरु सहभागी हुने अनुमान गरीएको छ ।
महाकुम्भ मेला एक मानव जीवनको कालखण्डमा एकपटक अर्थात १४४ वर्षमा एक पटक मात्र आउने दुर्लभ खगोलीय संयोजनमा अहिले चलिरहेको छ ।
गङ्गा, यमुना र अहिले लुप्त भइसकेको सरस्वती नदीको त्रिवेणीस्थललाई तीर्थहरूमध्ये श्रेष्ठ मान्दै प्रयागलाई ‘तीर्थराज’ भन्ने गरिएको छ। हिन्दू धर्मावलम्बीहरू ती नदीको सङ्गममा गएर स्नान गरीरहेका छन्।
तीर्थालुहरू भक्तजनहरुले त्यहाँ स्नान गर्दा पाप पखालिने, आत्मा शुद्ध हुने अनि जीवन र मृत्युको चक्रबाट मुक्त हुँदै मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ।
संयुक्त राष्ट्रसङ्घले समेत यो महाकुम्भलाई मानवजातिको अमूर्त सम्पदाको मान्यता दिएको छ। अन्तरिक्षबाट पनि यसलाई देख्न राष्ट्रसङ्घले बताइएको छ।
भारत सरकार र उत्तर प्रदेश सरकारले ठुलो लगानी गरेको महाकुम्भ मेला धार्मिक हिसावले मात्रै हैन आर्थिक हिसावले समेत भारतलाई फलिफाप हुने देखिएको छ।
त्यसैले २०२५ को महाकुम्भ मेला केवल धार्मिक आयोजना मात्र नभई, यो भारतको सांस्कृतिक विविधता, वैज्ञानिक उन्नति, र सामाजिक सद्भावको प्रतीक रुपमा चिनिन पुगेको छ । यसले आधुनिक प्रविधि र प्राचीन परम्पराको सामंजस्य देखाउँदै विश्वलाई एकता र शान्तिको सन्देश फैलाउने अपेक्षा गरीएको छ।
प्रतिक्रिया दिनुहोस