काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अहिले भएका कमी, कमजोरी सच्याएर नौलो गणतन्त्रको स्थापना गर्न जरुरी रहेको बताएका छन् ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबैतिरबाट घेरा हालेर दुई वटा दललाई मात्रै राख्ने गरी काम अघि बढाइरहेको भन्दै आपत्ति जनाए । उनले सामाजिक सञ्जाल विधेयकबाट जनताका आवाज थुन्ने काम भएको बताए । उनले नौलो गणतन्त्रका लागि संविधान संशोधन जरुरी रहेको बताए ।
उनले भने, ‘सबैतिरबाट घेरा हालेर जसरी हुन्छ दुई वटा दललाई मात्र यहाँ राख्ने, अरु सबैलाई घेरेर बन्द गर्ने, अरुको आवाज पनि बन्द गरिदिने, राणाकालमा पर्चा भेट्दा कारबाही हुन्थ्यो, अहिले पनि सामाजिक सञ्जालमा केही भेट्यो भने कारबाही हुन्छ ।
अमेरिका, जापानबाट केही लेख्यो भने झिकाउने माग आउँछ । स्टेडियममा कसैले नारा लगाइदियो भने सिसिटिभीमा त्यो फुटेज हेरेर कारबाही गरिन्छ । त्यस्तो खालको लोकतन्त्र हामीले खोजेको होइन । त्यही भएर नै हामीले नौलो गणतन्त्र भनेर नाम दिएका छौँ । अब भएका कमी, कमजोरी सच्याएर जुन व्यवस्था आउँछ, त्यसलाई नै हामीले नौलो गणतन्त्र भनेका हौँ । त्यतातिर संविधान संशोधन गर्न हामी लाग्नुपर्छ ।’
अध्यक्ष राउतले एक सय वर्षमा नेपालमा बन्न नसकेको सडक ६ वर्षमा त्यो भन्दा बढी बनेको बताए ।
प्रतिक्रिया दिनुहोस