
काठमाडौं । पछिल्लो समय नेपालका पर्यटकीय गन्तव्य र शहरहरुमा अर्बौं रुपैयाँ लगानीमा तारेस्तरका होटलहरु निर्माण भइरहेको छ । कोशी प्रदेश राजधानी विराटनगरमा पनि निजी लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ ।
पौने ३ अर्ब रुपैयाँ लगानीमा व्यवसायी विजयकुमार चौधरीले एक्सिस हस्पिटालिटी निर्माण गर्न लागेका हुन् । होटल आगामी सन् २०२७ भित्र सञ्चालनमा ल्याउने तयारी भएको छ । होटल बनाउन २ अर्ब ८७ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
२५ प्रतिशत संस्थापक स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ । जसअनुसार २ अर्ब १७ करोड ७० लाख रुपैयाँ बैंकका ऋण लगानी हुने एक्सिसले जनाएको छ । गत असारसम्म होटलको ८ प्रतिशत वित्तीय प्रगति भएको थियो । होटलले पछिल्लो प्रगति विवरण सार्वजनिक गरेको छैन । होटलमा संस्थापकहरुको १४ प्रतिशत इक्विटी लगानी भएको एक्सिसले जनाएको छ ।
होटलमा १ सय १५ कोठा निर्माणको प्रस्ताव गरिएको छ । होटलमा डिलक्स, स्वीट्स र भिल्ला कोठाहरु निर्माण हुने भएका छन् । सम्मेलन हल, बैंक्वेट, बार, जिम, क्यासिनो, रुफटप रेष्टुराँ, इन्फिनिटी पूल जस्ता अत्याधुनिक सुविधा हुने भएको छ ।
होटल विराटनर विमानस्थलबाट डेढ किलोमिटर दुरीमा रहेकाले हवाइ यात्रुलाई सहज हुने देखिएको छ । भारत र नेपाल सीमा नजिकैको भएकाले होटलले विशेष गरी फुर्सद, मनोरञ्जन र विवाह कार्यक्रमहरू जस्ता उद्देश्यका साथै कर्पोरेट र भारतबाट आउने पर्यटकहरूको आकर्षणलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यसबाहेक, शहरमा पूर्ण रूपमा सुसज्जित क्यासिनो राख्ने प्रस्ताव गरिएकोले यो होटलले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
होटलले २ अर्ब २१ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । एक्सिस हस्पिटालिटी सन् २०२१ मा स्थापना भएको हो । होटलमा चौधरीको ९९.८८ प्रतिशत स्वामित्व रहेको छ । व्यवसायी चौधरीले हिमाल रेफ्रिजेसन एन्ड इलेक्ट्रिक इन्डष्ट्रिज र डिम्याक इन्डष्ट्रिजका सञ्चालक हुन् ।
कम्पनीहरुले इलेक्ट्रिक सामान, एयरकण्डिसन, सोलार उपकरण, डिजल जेनेरेटर र ट्रान्सफरमरको व्यापार गर्दै आएका छन् ।
कम्पनीले ठूला पाँचतारे होटल, एनजिओ र आइएनजीका साथै अस्पताल, राजदुताबास, विश्वविद्यालय, बैंक, हाउजिङ परियोजनामा उपकरण आपूर्ति गरेको छ । चौधरीको कम्पनीले राजधानीको ठमेलमा रहेको होटल अलफ्ट, होटल सिराइचुली, पार्क भिलेज, मेची क्राउनलगायतमा उपकरण आपूर्ति गरिसकेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend