काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना रोकिएको छ । एमसिसी कार्यालयले यही फागुन २ गते अर्थ मन्त्रालयललाई पत्राचार गरी एमसिसी रोक्ने जानकारी गराएको हो ।
नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसिसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २० तारिखमा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको जानकारी मन्त्रालयले दिएको छ ।
यो निर्णयलाई गत महिना मात्र अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेका डोनल्ड ट्रम्पको वैदेशिक सहायता कटौती गर्ने नीतिको प्रभाव मानिएको छ। अमेरिकामा ट्रम्प प्रशासनले खर्च कटौतीका निम्ति भन्दै अमेरिकी सहयोग नियोग यूएसएआईडीका कार्यक्रम बन्द गरिदिएको थियो।
२०७८ को फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले एमसिसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो। त्यसपछि एमसिसीको कार्यान्वयन सुरु भएको हो ।
यसअघि एमसिसीले छ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता रकम थप्ने निर्णय गरेको थियो।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब रुपैयाँ बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय गरेको थियो ।
एमसिसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौँको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ । प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ ।
याे पनि :
‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थ मन्त्रालयको निर्देशन
४३ डलर बजेट व्यवस्थापन गर्ने विकास एजेन्सी युएसएआइडी बन्द गर्दै ट्रम्प
प्रतिक्रिया दिनुहोस