काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालले जनतालाई दुःख दिएको बताएका छन् ।
अखिल नेपाल किसान सङ्गठनले बिहीबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले भने, ‘गरीबको तरकारी फ्याँकेर उहाँहरुले महान् आन्दोलन सफल पार्नुभयो । एउटी बूढी आमाले डोकामा ल्याएको टमाटर सडकभरि फ्याँकेर क्रान्तिकारिता देखाउनुभयोे ।’
प्रचण्ड र नेपालले अरुको गाडी जलाएर आफू गाडी चढेर जनताले दुःख पाएको ‘तमासा’ हेर्दै हिँडेको उल्लेख गर्दै उनले भने, ‘एक जना गाडीमा र अर्को एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो ।’
ओलीको भनाई थियो, ‘उहाँहरु आक्रमक ढङ्गले आउनु हुन्छ । नियम तोड्न खोज्नु हुन्छ । धाकधक्कु लगाउनुहुन्छ । नियय र कानून मान्दिन भन्नुहुन्छ । प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी नायब उपरीक्षक (एसपी) लाई हप्कीदप्की गर्नु हुन्छ । यो गलत हो । म आग्रह गर्न चाहान्छु कि तपाईँहरु कानूनको पालना गर्नुहोस् । राष्ट्रसेवकलाई हप्कीदक्पी नगर्नुृहोस् ।’
किसानका समस्या समाधान गर्नेमा सरकार गम्भीरतापूर्वक लागेको उउनको भनाइ छ । पार्टी अब आन्तरिकरुपमा सुदृढ हुँदै शुद्धीकरण र विस्तारित हुने उनको भनाइ छ ।