वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत आवको सोही अवधिमा संकलित रकममा सात अर्ब ९५ करोड रुपैयाँले बढी हो ।
उक्त कार्यालयले उक्त अवधिमा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि बढेको हो । “दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ”, उनले भने ।
गत साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालु आवमा दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गर्न सरकारले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस