२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

शनिवार , फाल्गुण १०, २०८१

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ ।

शुक्रबारदेखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि १५ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ ।

नगरपालिकाले निकुञ्जमा पर्यटक भित्र्याउन पर्यटन महोत्सव आयोजना गरेको भीमदत्त नगर पर्यटन विकास समितिका संयोजक राजेन्द्र केसीले जानकारी दिए । उनले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरेको बताए । “एक सातासम्म चल्ने महोत्सवमा निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई निःशुल्क नेचर गाइडको व्यवस्था गरिएको छ ।” उनले भने, “पर्यटकलाई प्रोत्साहनस्वरूप पहिलो एक सय गाडी (निजी तथा सफारी) निःशुल्क गरिएको छ ।” नेचर गाइड र सफारीको शुल्क शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सहयोग गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

प्रकृतिसँग रमाउन पर्यटकका लागि शुक्लाफाँटा आकर्षण गन्तव्य रहेकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । “आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु आवश्यक छ,” होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले भने, “स्थानीयस्तरमा निजी क्षेत्रबाट पहल भए पनि बाह्य पर्यटक भित्र्याउन सरकारले पहल गर्नुपर्छ ।”

विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रूपमा विकास गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा रहेको उनले बताए। शुक्लफाँटा राष्ट्रिय निकुञ्जका पथप्रदर्शक महानन्द जोशीले शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि प्रचारप्रसार नहुँदा पर्यटकको सङ्ख्या न्यून रहेको बताए । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा शुक्लाफाँटाको ठूलो घाँसे मैदान (फाँट) छ । जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुन्ड देख्न सकिन्छ,” उनले भने, “वन्यजन्तु मात्रै नभई यहाँ दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो ।” उनले निकुञ्जमा ५६ प्रजातिका स्तनधारी जीव, ५६ प्रजातिका घस्रने वन्यजन्तु १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली निकुञ्जभित्र रहेका छन् ।

उनका अनुसार शुक्लाफाँटामा विश्वमै दुर्लभ मानिएको सारस, खर मजुर, सिम तित्रा, राजधनेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । जसमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिंगा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगाका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार दुई सय बढी बाह्रसिङ्गा छन् । यहाँ घुम्न आउने पर्यटकले ठूलो सङ्ख्यामा बाह्रसिंगाको झुन्ड देख्न पाउँछन् । त्यसैगरी २५ वटा जंगली हात्ती, १६ वटा एकसिंगे गैँडा, ४२ वटा पाठेबाघ रहेका छन् ।

“निकुञ्जको विश्वकै सबैभन्दा ठूलो घाँसेमैदान पनि यसको विशेषता हो निकुञ्जको १९ प्रतिशत क्षेत्र घाँसेमैदान छ,” जोशीले भने, “जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तलजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् भने रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् ।” उहाँका अनुसार रैथाने र बसाइँ सरी आउने गरी ४६१ भन्दा बढी चराचुरूंगी पाइन्छन् । शुक्लाफाँटाका क्षेउ पिपरियामा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ । आगन्तुकको समयअनुसार हात्तीमा जंगल सफारीको समेत सुविधा छ । एकसाता सञ्चालन हुने महोत्सवमा निकुञ्ज क्षेत्रमा सरसफाइ, निबन्ध प्रतियोगिता र नेपाल–भारतका पर्यटन व्यवसायी र ट्राभल व्यवसायीसँग अन्तक्र्रिया समेत आयोजना गरिएको बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट