काठमाडौं । जलविद्युत व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले पर्यावरण मैत्री शवदाह गृहका लागि ३५ लाख रुपैयाँ मूल्यको आधुनिक मेसिन दिएका छन् ।
रुपन्देहीको तिलोत्तमास्थित मगरघाटमा उनले सो मूल्यको आधुनिक मेसिन दिएका हुन् । प्रधानले १० करोड रुपैयाँमा नेपालका ९ स्थानमा शवदाह मेसिन र एउटा शवदाह वाहन दिने योजना बनाएका छन् । सोही योजना अन्तर्गत प्रधानले पहिलो मेसिन तिलोत्तमामा दिएका हुन् ।
परम्परागत ढंगले दाउराको प्रयोगबाट शव दाह गर्दा फ्याँकिने वस्तुका कारण नदीहरूमा भइरहेको फोहोर तथा प्रदूषण रोक्न र अन्त्येष्टि कार्यलाई आधुनिक र पर्यावरणमैत्री बनाउने उद्देश्यले रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ सँग सम्झौता गरी काम अघि बढाएको प्रधानले बताए ।
पर्यावरणमैत्री रोटरी शवदाह गृह निर्माण पूरा गरी बिहीबार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपाकिलाका प्रमुख रामकृष्ण खांण, रोटरी डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन र मेसिनका दाता प्रधानले मगरघाट विकास तथा व्यवस्थापन परिषद्का अध्यक्ष तेजमान थापालाई हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस