काठमाडौंं । दार्चुला पावर लिमिटेडले २८.३ मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत् आयोजनाको निर्माण सुरु गरको छ । मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलन्यास गरिएको छ ।
दार्चुला पावरका सञ्चालक गुरु न्यौपानेको अध्यक्षता तथा प्रतिनिधिसभाका सांसद दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यतामा आज आयोजनाको शिलन्यास गरिएको हो ।
जलविद्युत आयोजनाको बाँध लाम्बगर र विद्युत्गृह शेरीमा रहने भएको छ । आगामी तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत छ खर्ब २३ करोड रुपैयाँ बढी रहेको आयोजनाका सञ्चालक न्यौपानेले जानकारी दिए ।
शेरीबाट आठ दशमलव पाँच किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ । शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभाका सांसद मानबहादुर धामी र विक्रमसिंह धामीलगायतको उपस्थिति थियो ।
नेपाल विद्युत प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत आयोजजना सञ्चालन गरिरहेको छ । यस्तै अपी पावर कम्पनी लिमिटेडले साढे ७ अर्ब रुपैयाँ लगानीमा ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना सम्पन्न गरेको छ ।
यस्तै अपी पावरले ८ मेगावाटको अपर नौगाड र ८.५ मेगावाटको नौगाड आयोजना सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस