
काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको भन्दै आपत्ति जनाएकी छन् ।
आईतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरु नै समाजमा अराजकता फैलाइरहेको बताएकी हुन् । उनले पूर्वराजाको अभिव्यक्तिलाई लिएर समाजमा वर्तमान व्यवस्था नै ठिक छैन भनेर डंका पिटिएको टिप्पणी गरिन् । उनले लोकतन्त्रमा बोल्न पाइने भएपनि समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि नभएको बताइन् ।
उनले भनिन्, ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको विचारलाई लिएर समाज तरंगित त भयो नै पक्ष र विपक्षमा मतहरु छताछुल्ल भए । यो व्यवस्था नै ठिक छैन भन्ने डंका पनि पिटिए । जसले यो व्यवस्था ल्याउन कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा उठाए बिडम्बना उनैले संविधानको भावना विपरित लोकतान्त्रिक गणतन्त्र एवं यो व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेको देख्दा २०६२–०६३ को जन आन्दोलन र गणतन्त्रको लागि मर्न तयार त्यो जनसागर झलझली सम्झिरहेको छु । लोकतन्त्रमा बोल्न मज्जाले पाइन्छ सभामुख महोदय तर अराजक र समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि छैन ।’
उनले लोकतन्त्रमा लोकतन्त्र कसैको कृपाले नभई नेपाली जनताको शक्ति हासिल गरेको बताइन् । उनले व्यक्तिले गरेको गल्तिलाई सुधार गर्दै लैजान सकिने भएपनि व्यवस्थामाथिको प्रहार कुनैपनि बहानामा स्वीकार्न नसकिने बताइन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend