
काठमाडौं । नेपालमा पेयपदार्थ कोकाकोला उत्पादन गरिरहेका दुबै बहुराष्ट्रिय कम्पनी नोक्सानमा गएका छन् । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स तराई लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा आइपुग्दा ३६ करोड ३० लाख रुपैयाँ खुद नोक्सानमा गएका छन् ।
६ महिनामा बोटलर्स नेपाल २४ करोड ५० लाख र बोटलर्स नेपाल तराई ११ करोड ८० लाख रुपैयाँ खुद नोक्सानमा गएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । निरन्तर नाफा कमाइरहेका दुबै कम्पनी अहिले घाटामा गएका छन् ।
कम्पनीको बजार हिस्सा र नाफा दुवै घट्दै जान थालेको छ । कम्पनीले भने उपभोक्ताको क्रयशक्तिमा गिरावट आउँदा कम्पनीको नोक्सानमा गएको जानकारी दिएको छ । उपभोक्ताले गर्ने खर्चमा गिरावट आउँदा यसको असर कम्पनीको आम्दानीमा परेको उल्लेख गरेको छ । कम्पनी घाटामा जानुमा थुप्रै व्यवस्थापकीय र व्यावसायिक रणनीतिहरुमा कमजोर रहेको पाइएको छ ।
कच्चा पदार्थ र उत्पादन खर्चमा भएको वृद्धि, कच्चा पदार्थ आपूर्तिमा कठिनाइ र मुद्रास्फीति तथा विनिमय दरको अस्थिरताबाट आम्दानीमा दबाब परेको बोटलर्सले जनाएको छ । बोटलर्स नेपाल बालाजुले ६ महिनामा कोकाकोला र फेन्टालयगायत अन्य पेय पदार्थ बेचेर हुने आम्दानी पनि घटेकाे छ ।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ३६ करोड ४३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको थियो । घाटामा गएपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि २ सय ४० रुपैयाँ ऋणात्मक भएको छ ।
१९ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बोटलर्स नेपालको सञ्चित कोषमा ५ अर्ब ८१ करोड रुपैयाँ छ ।
यस्तै बोटलर्स नेपाल तराइ पनि ११ करोड ८० लाख रुपैयाँ नोक्सानमा छ । कम्पनीको सञ्चालन आम्दानी घटेर २ अर्ब ९६ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।
गत वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ थियो । घाटामा गएपछि बोटलर्स तराईको प्रतिसेयर मूल्य १ सय ९७ रुपैयाँ ऋणात्मक रहेको छ । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी भएको बोटलर्स तराईको जगेडा कोषमा ३ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ छ । यद्यपि, नोक्सानमा गए पनि बोटलर्सका दुबै कम्पनीको जगेडा कोष मजवुत छ ।
बोटलर्स नेपालले दुई वर्षदेखि सेयरधनीलाई लाभांश दिएको छैन् । बोटलर्स तराईले गत वर्षको नाफाबाट सेयरधनीलाई ५० प्रतिशत लाभांश दिएको थियो । यो वर्ष नोक्सानमा भएकाले कम्पनीले लाभांश दिने क्षमता देखिएको छैन् ।
दुबै कम्पनीको सेयर मूल्य उच्च छ । बोटलर्स नेपालको प्रति सेयर मूल्य १७ हजार ८ सय र बोटलर्स तराईको १३ हजार ५ सय रुपैयाँ छ । सेयर मूल्यका आधारमा बोटलर्स नेपालको बजार पुँजीकरण ३६ अर्ब १५ करोड र तराईको १६ अर्ब १० करोड रुपैयाँ छ ।
अहिले बजारमा बरुण बेभरेजको पेप्सी, माउन्टेन डिउ जस्ता पेय पदार्थको बलियो उपस्थित हुँदा यसको असर बोटलर्सलाई परेको छ । पछिल्लो समयमा आएको सिङापूर बेभरेजले पनि बजारमा आफ्नो उपस्थिति बढाउँदै गएको छ । उद्योगले जुनियर, फ्रुट जिम्स, जिरु र निम्बु पानी जस्ता पेय पदार्थ उत्पादन गर्दै आएको छ ।
बोटलर्स र कर कार्यालयबीच १३ अर्ब कर विवाद
बोटलर्स नेपालको कर विवाद सर्वोच्च अदालतमा विचाराधिन छ । बोटलर्सले कर विवादको न्यायिक निरुपरणका लागि सर्वोच्च अदालतमा गएको जनाएको छ । बोटलर्स नेपालले आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई विपक्ष बनाएर मुद्धा दर्ता गरेको छ ।
राजस्व न्यायाधिकरणले आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले गरेको कर मूल्याँकनलाई सदर गरेपछि त्यसमा असहमति जनाउँदै बोटलर्स सर्वोच्च अदालत पुगेको हो ।
बोटलर्सको कर दायित्व बढेर १२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । बोटलर्सको राजस्व विभाग र ठूला कर कार्यलयसँग मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, पुँजीगत लाभ र अन्तःशुल्क निर्धारणको विषयमा विवाद छ ।
यद्यपि, बोटलर्सले १ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । राजस्व अनुसन्धान विभागले २०७१ (सन २०१४) मा स्वामित्व बिक्रीको विषयमा पुँजीगत लाभकर छलेको भन्दै ७ अर्ब ४० करोड दाबी गरेको छ । यस्तै ठूला करदाता कार्यालयले पनि ५ अर्ब ४० करोड रुपैयाँ कर छली गरेको भन्दै २०७८ (सन् २०२२) मा अर्को दाबी गरेको छ । ठूला करदाता कार्यालयले पनि उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ ।
कर अधिकारीहरूद्वारा गरिएको दावीहरूको बोटलर्स नेपालले अदालतमा प्रतिरोध गरिरहेको छ । यस्तै राजस्व अनुसन्धान विभागले गरेको कर दाबी हाल उच्च अदालतमा विचाराधिन रहेको कम्पनीले जनाएको छ । कर कार्यालयको दाबी रकम कम्पनीको नेटवर्थ वा वार्षिक सञ्चालन नाफाको तुलनामा उच्च भएको कम्पनीले जनाएको छ ।
यो पनि :
सरकार र कोकाकोलाबीच कर विवाद : बोटलर्स पुग्यो सर्वोच्च अदालत
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend