२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत, मासिक लाख बढी कमाइ

बुधवार , फाल्गुण १४, २०८१

धरान । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् ।

धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बू सजावटका लागि फूल संकलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्ने सहयोग गरेको बताउँछन् । उनले पछिल्लो आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहेका छन् । “पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोप्दै आएको थिएँ, अहिले फूलका बिरुवा उत्पादन गरेर बिक्री गरी मासिक झण्डै एक लाख रुपैयाँ आम्दानी भइरहेको छ”, उनले भने ।

फूल रोप्ने सौखलाई व्यवसायमा बदल्नेमा धरान–११ की शिवमाया राई पनि हुन् । छ वर्षअघि मनी प्लान्टका दुईवटा बिरुवा घर ल्याएर उनले कालान्तरमा मनपरेका फूल संकलन सुरु गरिन् । अहिले उनले आफैं नर्सरी सञ्चालन गरिरहेकी छन् । जहाँबाट विभिन्न प्रजातिका फूल र बिरुवा छन् । यसले सौखमात्र पूरा भएको छैन, राम्रो आम्दानी पनि भइरहेको छ ।

“सुरुमा आफन्त र छिमेकी सित्तैमा लैजाने गर्दथे, उनीहरुले निःशुल्क पाएर होला, राम्रोसँग स्याहार नगरेको देख्दा चित्त दुख्थ्यो”, उनले भनिन्, “पछि सित्तैमा दिन मन लागेन, प्रतिबिरुवा ५० रुपैयाँ लिन थाले, पछि यो व्यवसाय बन्यो ।”

उनले सुरुआती आम्दानी फूल र बिरुवामै लगानी गरिन् । अहिले यसैले व्यवसायी बनाएकोमा उनी निकै खुसी छिन् । “सौखले रोप्न सुरु फूल पछि व्यवसाय बन्यो, अहिले यसैबाट मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको छ”, उनले भनिन् । अहिले उनको नर्सरीमा एक सयभन्दा बढी प्रजातिका फूल र बिरुवा छन् ।

धरानका लाहुरेका बस्तीमा घरको गेटदेखि छतसम्म फूलैफूल देख्न सकिन्छ । कतिपयले घरको आँगनलाई नै बगैँचा बनाएका छन् । फूल र बिरुवाप्रतिको लगावका कारण घर निर्माण गर्दा अलिकति भए पनि खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलन पनि बढेको छ ।

धरान–८ मा पवित्र नर्सरी सञ्चालन गर्दै आएकी प्रमिला राई १७ वर्षदेखि नर्सरीबाट भएको आम्दानीले नै परिवार धानिरहेको बताउँछिन् । नर्सरीमा उनले केही व्यक्तिलाई जागिर पनि दिएकी छन् ।

धरान–२० का युमेनहाङ राई पनि पहिले फूल संकलन गर्ने सौख नै अहिले व्यवसाय बनेको बताउँछन् । अहिले एभरेष्ट नर्सरी सञ्चालन गर्दै आएका छन् । उनले भने, “सुरुमा साथीभाइबाट मनपरेका फूल मागेर ल्याउँथे, पछि यसैलाई व्यवसाय बनाएँ, अहिले यही सौखको व्यवसायले घर खर्च धानेको छ ।” उनको नर्सरीमा अहिले एक सयदेखि ७० हजार रुपैयाँ सम्मका बिरुवा छन् ।

धरानका नगरप्रमुख हर्क साम्पाङ राईले पनि उपमहानगरमा फूल रोप्ने अभियान नै सञ्चालन गरिरहेका छन् । उनले सञ्चालन गरेको श्रमदान अभियानबाट धरानमा सडकको छेउछाउ र सर्दुखोलाको बगर र डाँडाकाँडामा विभिन्न प्रजातिका फूल र बोटबिरुवा रोपिएको छ ।

“फूलले मानिसलाई आकर्षित मात्र गर्दैन व्यावसायिक पनि बनाउँछ”, “फूलले धरान पर्यटकलाई पनि आकर्षित गर्छ ।” फूल र बोटबिरुवा धरानको चिनारीका रुपमा विस्थापित गर्नका लागि उक्त अभियान सञ्चालन भइरहने उनको भनाइ छ ।

धरानमा अहिले व्यावसायिक रूपमा फूल र बिरुवा बेच्ने तीन दर्जनभन्दा बढी नर्सरी छन् । धरानमा वार्षिक तीन करोड रुपैयाँभन्दा बढीको फूल र बिरुवा हुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट