२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

गलेश्वर मन्दिरमा ५१ लाख रुपैयाँ भेटी सङ्कलन

बिहिवार , फाल्गुण १५, २०८१

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म ५१ लाख रुपैयाँबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले ५१ लाख २२ हजार एक सय ५३ रुपैयाँ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए । उनका अनुसार गत आव २०८०/८१ मा ५८ लाख ४० हजार पाँच सय १० रुपैयाँ भेटी सङ्कलन भएको थियो । यस वर्ष नियमिततर्फ २५ लाख १५ हजार पाँच सय ४७ रुपैयाँ तथा मेलापर्व र विशेष अवसरमा गरी २६ लाख छ हजार छ सय छ रुपैयाँ भेटी सङ्कलन भएको रेग्मीले जानकारी दिए ।

बुधबारको महाशिवरात्रि पर्वमा चार लाख ३३ हजार सात सय ७४ रुपैयाँ, मङ्सिरको बालाचर्तुदशीमा छ लाख ६१ हजार दुई सय ९४ रुपैयाँ र साउने सोमबारको मेलामा १५ लाख ११ हजार पाँच सय ३८ रुपैयाँ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी पुनले जानकारी दिइन् ।

शिवरात्रि पर्वको भेटी आज बिहान कोषका पदाधीकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा गनेर सार्वजनिक गरिएको हो । अन्य शीर्षकमा २१ लाख ४२ हजार पाँच सय २९ रुपैयाँ सहित कोषले साउनदेखि हालसम्म ७२ लाख ६४ हजार छ सय ८२ रुपैयाँ आम्दानी गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताए ।

मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुजारी, ज्येष्ठ नागरिकको आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने गरिएको सचिव बानियाँले बताए ।

नियमित पूजाबाट तथा महायज्ञबाट सङ्कलन भएको भेटी, तीर्थयात्रीद्वारा दिइएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब ११ करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए।

उनका अनुसार धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दुधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गर्दछ । साथै यहाँ दैनिक नित्य पूजाआजा हुने गर्दछ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट