मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

साढे ५ अर्ब नाफा गर्ने एभरेष्ट बैंकको प्रक्षेपण, यस्ता छन् सूचक

साढे ५ अर्ब नाफा गर्ने एभरेष्ट बैंकको प्रक्षेपण, यस्ता छन् सूचक

काठमाडौं । आर्थिक गतिविधिमा आएको सुस्तताले केही वर्षयता बैंकहरुको नाफामा ठूलो असर गरिरहेको छ । अधिकाँश बैंकको निष्क्रिय कर्जा अनुपात (एनपिएल) वृद्धि भएपछि नाफामा गिरावट आएको छ ।

नाफा कम भएपछि सेयरधनीलाई दिने लाभांश पनि घटिरहेको छ । अधिकाँश बैंकहरु लगानीकर्तालाई लाभांश नदिने अवस्थामा पुगेका छन् ।यसैबीच एभरेष्ट बैंकले आकर्षक नाफा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । बैंकले आउँदो तीन वर्ष (आर्थिक वर्ष ०८३/०८४) मा नाफा बढेर ५ अर्ब ५५ करोड ७४ लाख रुपैयाँ पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ ।

बैंकले ऋणपत्र निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो प्रक्षेपण गरिएको हो । बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ मा ४ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खुुदनाफा हुने अनुमान गरेको छ । यस्तै चालू आर्थिक वर्षमा खुदनाफा ४ अर्ब २१ करोड ७२ लाख रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाशसम्म आइपुग्दा बैंकले २ अर्ब ७ करोड ४६ लाख रुपैयाँ खुदनाफा गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । दोस्रो त्रैमाशमा गरेको नाफाको अवस्था हेर्दा चालू आर्थिक वर्षमा गरेको प्रक्षेपित नाफा पुरा हुने देखिएको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुदनाफा गरेको थियो । उक्त नाफाबाट बैंकले सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिएको छ ।

तीन वर्षमा ५ अर्ब ५५ करोड रुपैयाँ बढी नाफा गर्न बैैंकले खुदब्याज आम्दानी ११ अर्ब ३५ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । यस्तै आगामी आर्थिक वर्षमा १० अर्ब र चालू आर्थिक वर्षमा ८ अर्ब ४९ करोड १० लाख रुपैयाँ खुदब्याज आम्दानी हुने अनुमान बैंकको छ ।

प्रक्षेपित नाफा आर्जन गर्न बैंकले चालू आर्थिक वर्षमा निक्षेप परिचालन वृद्धि १४.९६, आगामी आर्थिक वर्षमा र तेस्रो वर्षमा १५ प्रतिशतका दरले बढाउने लक्ष्य लिएको छ । यस्तै कर्जा तथा सापटी पनि यो वर्ष १६.१५, आगामी वर्ष १४.०६ र तेस्रो वर्ष १३.९८ प्रतिशत हुने प्रक्षेपण बैंकको छ ।

बैंकले तीन वर्षमा निष्क्रिय कर्जा ०.९० प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकको निष्क्रिय कर्जा ०.६६ प्रतिशत छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी ३१.४७ रुपैयाँ थियो । चालू आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ३२.५८, आगामी वर्ष ३८ र तेस्रो वर्ष ४२.९३ रुपैयाँ पुग्ने अनुमान बैंकको छ ।

यसैगरी, तीन वर्षको नेटवर्थमा भएको औषत प्रतिफलः १३.७४ प्रतिशत रहेको बैंकले जनाएको छ । गत वर्ष नेटवर्थमा प्रतिफल १४.६० प्रतिशत थियो । यस्तै चालू आर्थिक वर्षमा बढेर १५.९४ र तेस्रो वर्षमा १६.३८ प्रतिशत पुग्ने अनुमान बैंकको छ ।

अधिक प्रतिस्पर्धा रहेको नेपालको बैंकिङ बजारमा एभरेष्टको निक्षेपमा ४ प्रतिशत हिस्सा छ ।

यस्तै कर्जा सापटीमा ४.१९, खुदनाफामा ६.९७, ब्याज आम्दानीमा ६ र सञ्चालन नाफामा ७.१९ प्रतिशत हिस्सा रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

हालको वित्तीय बजारको स्थिति, निष्काशनकर्ता कम्पनीको विगतका वर्षहरुको कारोबारको वृद्धि, भावी योजनाहरु एवम् शाखा सञ्जाल विस्तार गर्ने रणनीति, हालको दक्षता र निष्काशनकर्ता कम्पनीले प्राप्त गरेको हालसम्मको कार्य प्रगतिको आधारमा प्रक्षेपण तयार पारिएको बैंकले जनाएको छ ।

सेयरधनीलाई ७० प्रतिशतसम्म लाभांश

एभरेष्ट बैंकले सेयरधनीहरुलाई आकर्षक प्रतिफल दिँदै आएको छ । आर्थिक वर्ष ०५५/०५६ देखि बैंकले सेयरधनीलाई लाभांश दिन थालेको हो । उक्त वर्ष १५ प्रतिशत लाभांश दिएको थियो ।

०७२/७३ मा आइपुग्दा बैंकले सेयरधनीलाई ७० प्रतिशतसम्म बोनस सेयर दिएको थियो ।

त्यसअघि ६२, ६०,५० प्रतिशत लाभांश दिएको छ । तर, पछिल्लो समय बैंकले सेयरधनीलाई दिने प्रतिफल भने कम हुँदै गएको छ ।

गत वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कूल १५.५३ प्रतिशत लाभांश दिएको थियो । आर्थिक वर्ष ०७०/०७१ मा ६२ प्रतिशत लाभांश दिएको थियो ।

एभरेष्ट बैंकले २०५१ कात्तिकदेखि बैंकिङ कारोबार सुरु गरेको हो । बैंकमा ३९.१४ प्रतिशत संस्थापक सेयरधनीहरुको रहेको छन् । यस्तै ४०.८३ प्रतिशत स्वामित्व सर्वसाधारण र बाँकी २०.०३ प्रतिशत सेयर संयुक्त लगानीकर्ता पञ्जाब नेसनल बैंकको छ ।

बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याज दिने गरी ३ अर्ब रुपैयाँको ऋण पत्र निष्कासन गर्न लागेको छ । ऋणपत्र निष्कासन आउँदो आइतबारदेखि हुने भएको छ । ऋणपत्रको अवधि १० वर्षको हुने बैंकले जनाएको छ ।

६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब २० करोड ऋणपूँजी रकम (सो मध्ये ५५ अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ ।

ऋणपत्रबाट संकलन हुने रकमको ९० प्रतिशत अर्थात २ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी र बाँकी १० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ लगानी गर्ने जानकारी बैंकले दिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend