
एजेन्सी । अमेरिका भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा चर्काचर्की भयो ।
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसस्थित ओभल अफिसमा जेलेन्स्कीले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग भनाभन गरेका हुन् ।
ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन चाहेको आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता नगरेमा अमेरिका बाहिरिने चेतावनी दिए ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबीच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनियो ।
बाहिरिएपछि फक्स न्यूजसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले ट्रम्पसँग हुन गएको विवाद दुवै पक्षका लागि ठीक नभएको प्रतिक्रिया दिएका छन् ।
सो क्रममा उनले पछिल्लो घटनापछि पनि दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने आफ्नो विश्वास रहेको बताएका छन् ।
ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताएका छन् । अर्काेतर्फ जेलेन्स्कीले आफूले युद्धविराम चाहेको उल्लेख गरेका छन् ।
ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच तर्कवितर्क भइरहँदा अमेरिकाका लागि युक्रेनी राजदूत तनावमा देखिएकी थिइन् । त्यतिखेर उनले पुर्पुरो र गालामा हात राखेको भिडिओमा देखिएको छ ।
दुई नेताबीच चर्काचर्की भएका कारण भेटपछि हुने भनिएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिने बाटो देखाइयो ।
भेटघाटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल टु« सोशलमा एउटा पोस्ट गर्दै जेलेन्स्कीमाथि कैयौँ आरोप लगाएका छन् ।
उनले लेखेका छन् ‘भेटघाटका क्रममा कैयौँ कुरा आए । तर राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार छैनन् किनकि अमेरिका त्यसमा संलग्न छ । मलाई अरू कुनै फाइदा चाहिएको छैन म त केवल शान्ति चाहन्छु ।’
जेलन्सिकले अमेरिकाको अपमान गरेको र फेरि युद्धमा फर्किने जिकिर गरेका छन् ।
भनाभनको घटनापछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जेलेन्स्कीले पनि युक्रेनले शान्ति चाहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘धन्यवाद अमेरिका तिम्रो समर्थनका लागि, धन्यवाद यो भ्रमणका लागि । धन्यवाद अमेरिकी राष्ट्रपति, कंग्रेस र अमेरिकी जनता । युक्रेन केवल र केवल शान्ति चाहन्छ अनि हामी त्यसैका लागि काम गरिरहेका छौ ।’
युरोप युक्रेनको पक्षमा
चर्काचर्कीपछि युरोपेली नेताहरूले तत्काल प्रतिक्रिया जनाउँदै युक्रेन र जेलेन्स्कीको समर्थन गरेका छन् ।
उनीहरूले सामाजिक सञ्चाल एक्समा लेख्दै जेलेन्स्कीलाई आफ्नो समर्थन रहेको भनेर सन्देश दिएका छन् ।
फ्रान्स, जर्मनी, पोल्याण्ड, स्पेन, डेनमार्क, नेदरल्याण्ड्स, पोर्चुगल, चेक रिपब्लिक, नर्वे, फिनल्याण्ड, क्रोएशिया, इस्टोनिया, लातभिया, स्लोभेनिया, बेल्जियम, लिथुवानिया, लग्जेम्बर्ग र आयरल्याण्डले युक्रेन र जेलेन्स्कीको समर्थन गरेका हुन् । उनीहरूले जेलेन्स्कीको प्रशंसा पनि गरेका छन ।
ह्वाइट हाउसमा ट्रम्पले जेलेन्स्कीलाई हैसियत नभएको नेता भन्दै रूससँग युद्धविराम सम्झौता नगरे युक्रेनलाई अमेरिकी समर्थन कायम नरहने भनेर धम्की दिएपछि युरोपेली नेताहरूले त्यसको प्रतिवाद गरेका हुन् ।
सोमबार मात्रै वाशिङ्टनको भ्रमण गरेका फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले तीन वर्षअघि युक्रेनमा आक्रमण गरेपछि युक्रेनलाई सहयोग गर्नु र रूसमाथि प्रतिबन्ध लगाउनु अमेरिका र युरोपको निर्णय जायज रहेको बताएका छन् ।
ट्रम्प र जेलेन्स्कीबीच ओभल अफिसमा भएको वादविवादले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का निम्ति महत्वपूर्ण संकटलाई संकेत गरेको बिबिसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोअन बताएका छन् ।
दुई नेताहरूबीच ओभल अफिसमा विवाद हुनुअघि पनि आपसी सम्बन्ध राम्रो थिएन ।
ट्रम्पले जेलेन्स्कीलाई यसअघि नै निरंकुसको संज्ञा दिइसकेका छन् भने युक्रेनले युद्ध थालेको पनि भनिसकेका छन् ।
दुई नेताबीचको चर्काचर्कीले नेटो र अमेरिकाबीच देखिन सक्ने एउटा महत्त्वपूर्ण संकटलाई पनि संकेत गरेको छ ।
युरोपेली राष्ट्रहरूको सुरक्षाबारे अमेरिकी प्रतिबद्धतालाई लिएर युक्रेनबाहिर थप आशंका र प्रश्नहरू खडा हुने छन् ।
नेटोका साझेदारमाथि गरिने आक्रमण अमेरिकामाथि आक्रमण गरिए सरह मान्ने भनेर सन् १९४९ मा ह्यारी ट्रूम्यानले गरेको वाचालाई ट्रम्पले जारी राख्ने छन् वा छैनन् भन्ने सबैभन्दा ठूलो प्रश्न उठेको छ ।
युक्रेनले जित्न नसक्ने
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन अहिले ठूलो संकटमा रहेको भन्दै रुससँग युद्धमा जित्न नसक्ने बताएका छन् ।
उनले भने युक्रेन यतिखेर ठूलो संकटमा छ । तपाईँहरू यो लडाइँ जित्न सक्नुहुन्न । तर, यदि तपाईँ हामीसँग हुनुहुन्छ भने लडाइँबाट बाहिरिने मौका तपाईँसँग छ ।’
भेटवार्ताका क्रममा ट्रम्पले युक्रेनलाई अमेरिकाले गरेको सहायताबारे पनि चर्चा गरे ।
उनले भने ‘हामीले तपाईंहरूलाई ३ खर्ब ५० अर्ब डलर दिएका छौं र सैन्य उपकरण दिएका छौं । यदि हामीले सैन्य सहायता दिन छोड्यौँ भने यो लडाइँ दुई सातामै सकिन्छ ।’
‘यदि म यदि म तपाईंहरु युक्रेन र रुसलाई एकसाथ उभ्याउन सकिनँ भने तपाईँ कहिल्यै सम्झौता गर्न सक्नुहुन्न’ ट्रम्पले अगाडि थपे । (बीबीसीलगायत अन्य एजेन्सीको सहयोगमा)
यो पनि :
ट्रम्प र जेलेन्स्कीबीचको वार्ता असफल, ह्वाइट हाउसमा के भयो ?
भिडियोमा हेर्नुहोस् यस्तो छ चर्काचर्की
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend