२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

विदेश र बजारबाट गाउँ फिरेका ध्रुर्व रैथाने खेतीमा, ‘होमस्टे’ सञ्चालनको तयारी

सोमवार , फाल्गुण १९, २०८१

म्याग्दी । रोजगारीको सिलसिलामा तीन वर्ष सिंगापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मंगला गाउँपालिका–२ सिमका ध्रुर्व खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो पुगेका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ ।

“हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरु विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन कजाउन अरुलाई नै अधिया र बन्दकी दिएका थियौँ,” उनले भने “कोरोनापछि गाउँ फर्किएर मेरो पुख्र्यौलीका साथै दाजुभाइको एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धान खेती गर्दै आएको छु ।”

सिमकाजी ब्रर्दश भेञ्चर प्रालिमार्फत रैथाने गौरिया, जेठोबुढो धान, मकै र गहुँ खेतीका साथै खत्रीले भैँसीपालन गरेका छन् । म्याग्दी नदीको किनारमा सिँचाइको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, शेरा, पिपलबोट, रणवाङ र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्यबाली हुने जमिन मानिन्छ ।

खत्रीका पूर्खाहरुले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए । खत्रीले यस वर्ष एक सय मुरी धान फलाएका छन् । बिक्री नहुने धानलाई चामल बनाउन घरमै विद्युत्बाट चल्ने मिल राखेका छन्। “घरमा आवश्यक पर्ने २५ मुरी राखेर ७५ मुरी बिक्री गर्छु,” खत्रीले भने “धान प्रतिपाथी रु चार सय र चामल प्रतिपाथी एक हजार रुपैयाँका दरले बिक्री हुन्छ ।”

पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरिया जातको धान म्याग्दीको रैथाने बाली हो । सहर बजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता, कर्मचारी गौरिया धानको चामलका उपभोक्ता हुन् ।

“गौरीया धान पाक्दा खेतनै बास आउँछ । भान्छा कोठामा गौरियाको भात पकाउँदा आगनसम्मै बास्ना आउँछ,” खत्रीले भने “गौरियाको भात खाइरहेकालाई अरु धानको भात रुच्दैन् । गौरियानै खोज्छन् ।” स्थानीयवासीका अनुसार चार पुस्ता अघिदेखि खेती हुँदै आएको गौरियाको वैज्ञानिक र अङ्ग्रेजी नाम अझै पहिचान भएको छैन् ।

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका किसान छविलाल कँडेल बताउँछन् । गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुन्छ । न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपिने गौरिया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ ।

गौरिया धानको दाना अरु जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुुन्छ । पकाउँदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुत्केरी, किरिया बसेकालाई गौरिया धानको चामलको भात उपभोगी हुने बताइन्छ ।

पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैँसीपालन र बेनी–दरवाङ सडक छेउमा किराना पसलसहितको रेष्टुरेन्ट सञ्चालन गरेका छन् । वार्षिक १० लाख रुपैयाँ भन्दा बढीको धान, चामल, दूध, खसीबोका र कुखरा बिक्री हुने खत्रीले बताए । एक वटा स्थानीय लिमे–पारकोटे र दुई वटा उन्नत मुर्रा जातको भैँसीसँगै खत्रीले खसीबोका उत्पादन गर्न बाख्रा पनी पालेका छन् । हाल दैनिक १० लिटर दूध बिक्री गर्ने उहाँले भैँसीको सङ्ख्या बढाउने सोचमा छन् ।

खत्रीकी श्रीमतीले उनलाई खेतीपाती र व्यवसायमा साथ दिएकी छन् । एक जनालाई नियमित र भित्र्याउने समयमा अरु धेरै जनालाई रोजगारी दिएका छन् । वैदेशिक रोजगारको बढ्दो आकर्षणका कारण खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, तापक्रम वृद्धिका कारण खेतीपात्रो परिवर्तन हुनुलाई खत्रीले चुनौतीका रुपमा लिएका छन् ।

पूर्खाहरुले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ सञ्चालनको तयारी गरेका खत्रीले पाहुनालाई रैथाने गौरिया धानको भात, भैँसीको दूघदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाएका छन् । सिमलाई कृषि, पर्यटकीय गाउँको रुपमा विकास गर्ने सामाजिक गतिविधिमा पनि जोडिएका खत्रीको योजना छ । बेनीदेखि १२ दशमलब पाँच किलोमिटर पश्चिमतर्फ कालोपत्र सडकको पहुँच भएको सिम प्राकृति उपचारस्थल सिंगा तातोपानीदेखि चार दशमलब पाँच किलोमिटर नजिक छ ।

रोजगारी, अवसर र सुविधाका लागि धेरै नेपाली सहरमा बसाइँसराइ र विदेशिने क्रम बढिरहेका बेला विदेश र बजारबाँट गाउँ फर्केका खत्रीले सकारात्मक सन्देश दिएको मंगला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती खत्रीले बताए । “गाउँमा पनि सम्भावना र अवसर छ भनेर उदाहरण प्रस्तुत गर्नुभएका धु्रबको प्रयासलाई हामीले पनि साथ दिएका छौँ,” उनले भने “सिम, कोत्रवाङ र तोराखेतमा सिँचाइ सुविधाका लागि गण्डकी प्रदेश सरकारको लगानीमा घुरेनी कोत्रवाङ सिँचाइ योजना निर्माणाधीन छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट