२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

'एलन मस्क, टाटा, अडानी र अम्बानीलाई आइडल मान्ने हामी नेपाली व्यवसायीप्रति नकरात्मक भयौं'

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीप्रति सर्वसाधारणको नकरात्मक धारणा बदल्नुपर्नेमा जोड दिएका छन् । उद्यमी व्यवसायी प्रति नकरात्मक धारणा र सोच बदल्न सके मात्र मुलुकमा लगानीको वातावरण बन्ने उनको भनाई छ ।

नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रालिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यो भाष्य बदल्न नसके मुलुकमा लगानीको वातावरण बन्न नसक्ने बताए । हामी एलन मस्क, जेफ बेजोस र ल्यारी एलिसनका जीवनी पढ्छौं, अम्बानी र अडानीको बयान गर्छौ । तर, हाम्रा उद्यमी व्यवसायी प्रति आम सर्वसाधारणको नकरात्मक धारणा छ, अब यो सोच बदल्नुपर्छ र यो भाष्य बदल्न जरुरी छ ।

ढकालले एलन मक्स, अडानी र अम्बानीलाई आइडल मान्ने तर, हाम्रा व्यवसायीलाई नकरात्मक कुरा गरेर लखेट्ने प्रचलन आएको भन्दै दुःख व्यक्त गरे। कुनै व्यवसायीले एउटा व्यवसायबाट २ लाख रुपैयाँ नाफा गर्यो भने त्यो नाफालाई अर्को १० लाख जाने परियोजनामा लगानी गर्ने जोखिम उठाउने बताउदै उनले भने नयाँ व्यवसाय सुरु गरेर बढी भन्दा बढीलाई रोजगारी दिएर राज्यलाई कर तिर्छ । व्यावसायीले २४ सै घण्टा गर्ने मेहनत लगानशीलता शारीरिक तथा मानसिक तनावको सबैले प्रसंशा गर्नुपर्छ ।

आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र नभइ यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रुपमा लिएको बताए ।

नयाँ उद्योगको सञ्चालन मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको प्रतिवद्धताको रुपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उल्लेख गरे ।

उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवाहरु जानु पर्ने वाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरु खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्न आइएमई ग्रुप उत्पादनमुलक क्षेत्रमा भएको प्रवेश महत्वपूर्ण पाइला सावित हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउदै अध्यक्ष ढकालले नेपाल पल्पले प्रत्यक्षरुपमा ३०० बढी र अप्रत्यक्षरुपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारीसमेत गराए । अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवद्र्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आम नेपाली जनताको सोँच तथा सपनासँगको हातेमालोको रुपमा लिन पनि आग्रह गरेका छन्।

उनले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानुनहरु निकै सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका छन् । उनले मुलुकको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुनहरु निर्माणमा सरकारले निजी क्षेत्रका सुझावहरु सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि उल्लेख गरे ।

सञ्चालनमा आएको यो उद्योगले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिने पनि अध्यक्ष ढकालले बताए ।

सो अवसरमा अध्यक्ष ढकालले पाथिभरामा बन्न लागेको केबुलकारको विषयमा सतहमा आएका केही विषयले मुलुकमा लगानी र व्यवसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका रहेको उल्लेख गरे ।

ताप्लेजुङका स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथिभरामा केबुलकारको निर्माण परियोजना सुर गरेको स्मरण गराउदै अध्यक्ष ढकालले उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्य मान्यता र पर्यावरणीय सन्तुलन जस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लाबासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको बताए ।

काम सुरु भए लगत्तै जिल्ला भन्दा बाहिरबाट गएर अवरोधको प्रयास भएको र यस्तो प्रवृतिले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ ? लगानीकर्ता थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएको अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।

पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसार भरि पुग्दा त्यसले विश्वका लगानीकर्ताहरुमा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता निजी क्षेत्रमा बढाएको पनि अध्यक्ष ढकालले बताए ।

बदलिँदै गरेको विश्व परिवेशमा विदेशी अनुदान तथा सहायता घट्दै गएको यथार्थ मनन गरेर स्वदेशी उद्यमी, रोजगारी र राजश्व सृजना गर्ने कर्मशिलहरुलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले प्रकृतिले दिएका अपार सम्भावनाहरुलाई उपयोग गर्दै समृद्धि तर्फको यात्रामा सँगसँगै अगाडि बढ्न आह्वान समेत गरे ।

सबै राजनितिक दलका नेताहरु, सबै संघ संस्थाका नेतृत्व वर्गलाई पूर्वाधार विकास, रोजगारी सृजना, आम नागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजश्वको मुख्य श्रोत सृजना गर्न सबै पक्ष एकै ठाउँमा उभिनु पर्ने आवस्यकता पनि अध्यक्ष ढकालले औल्याए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट