२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

गिट्टी कुटेर जीवन निर्वाह गर्दै जुम्लाका महिला

शनिवार , फाल्गुण २४, २०८१

जुम्ला । फागुनको चिसो मौसम, बाँझो पाखाको छेउमा एकाबिहानै जुम्लाको हिमा गाउँपालिका–७ कुडुगाउँकी ६५ वर्षीय मोसिला न्यौपाने गिट्टी कुट्दै भेटिन्छिन्।

उमेरले जति बुढो बनाए पनि उनका कर्मशील हात गिट्टीमा निरन्तर चलिरहेका छन्। उनी दिनभर गिट्टी कुटेर दैनिक तीन सय रुपैयाँभन्दा बढी कमाउँछिन्। नजिकै ढुंगा नपाइने भएकाले खोलाबाट बोकेर ल्याउनुपर्ने बाध्यता छ।

“ठूला ढुंगा फोड्न गाह्रो छ, एक कट्टीको सय रुपैयाँमा बिक्री हुन्छ,” उनले दुखेसो पोखिन्। छोराछोरीले पालनपोषण गर्ने उमेरमा उनलाई गिट्टी कुट्न बाध्यता छ। परिवारमा सदस्यहरू धेरै छन्, जीविकोपार्जनको अर्को विकल्प नभएपछि उनले गिट्टी कुट्न थालेकी हुन्।

“हाम्रो गाउँमा खानेपानीको पोखरी निर्माण हुने सुनेपछि म यहाँ गिट्टी कुट्न आएकी हुँ। छोराछोरीलाई कापी–कलम किनिदिन र घरखर्च टार्न केही पैसा आउला भन्ने आशा छ,” उनले भनिन्।

उनका छोराहरू रोजगारीका लागि भारत गएका छन् भने छोरीहरू अध्ययनरत छन्। “मर्ने बेलासम्म पनि ढुंगा कुटेरै जीवन चलाउनु पर्ने रहेछ,” उनले पीडा व्यक्त गरिन्।

उनी जस्तै ५५ वर्षीय सीता शाही दुई बच्चा च्यापेर गिट्टी कुट्दै थिइन्। “श्रीमान् भारतमा कमाइ गर्न गएका छन्, म छोरा–छोरी च्यापेर गिट्टी कुट्दैछु,” उनले भनिन्। दैनिक तीन सय रुपैयाँ कमाइ हुन्छ, जसले मासिक ९ हजार रुपैयाँ पुग्छ। यही पैसाले छोराछोरीको पढाइ र घरखर्च धान्नुपर्ने अवस्था छ।

५० वर्षीय निली बुढा बिहान ९ बजे गाउँको सिरानमा हातमा हथौडा लिएर गिट्टीसँग पौठेजोरी खेल्दै थिइन्। उनका श्रीमानले घरायसी काममा सघाउनुपर्ने अवस्था आएको छ, किनभने उनी दिनभर गिट्टी कुट्छिन्। “गृहकार्य जस्तो भइसक्यो, हात नचलाए खाना पाइँदैन,” उनले भनिन्।

यी त प्रतिनिधिमूलक पात्र मात्रै हुन्। जुम्लाका ग्रामीण क्षेत्रमा अहिले सयौं महिला गिट्टी कुटेर आफ्नो परिवार पाल्न बाध्य छन्। दुधेबच्चा च्यापेर सडकछेउमा गिट्टी कुट्नेहरूदेखि ६० वर्ष नाघेका वृद्ध–वृद्धासम्मले यही कामबाट आफ्नो जीवन चलाइरहेका छन्।

वैकल्पिक रोजगारीको अवसर नभएपछि अधिकांश पुरुषहरू भारत गएका छन्, भने बाँकी घरमा रहेका महिलाहरू गिट्टी कुटेर जीवन धान्ने संघर्षमा छन्।

निरन्तर सात दिन गिट्टी कुटेपछि मात्रै एक ट्याक्टर टर्ली भरिन्छ। ठेकेदारले एक ट्याक्टर गिट्टीको ३,५०० देखि ४,००० रुपैयाँसम्म तिर्छन्। यीनै गिट्टी खलङ्गा, नाग्मा बजार, हिमा, सिंजा लगायतका स्थानमा खपत हुने गर्छ।

गाउँमा खेतीपातीबाट उत्पादन हुने अन्नले ६ महिना पनि खान नपुग्ने अवस्था छ। यो वर्ष झन् खडेरीले गहुँ खेतमै सुकिसकेको छ।

भोकमरीको खतरा देखिएको छ। गाउँगाउँमा विकास निर्माणका काममा समेत अधिकांश महिला नै सहभागी हुन्छन्। युवाहरू वैदेशिक रोजगारीमा गएका कारण गाउँमा वृद्धवृद्धा र कम ऊर्जाशील सर्वसाधारण बढी भएकाले निर्माण कार्य प्रभावित भएको छ।

यो दृश्यले जुम्लाका ग्रामीण महिलाहरूको वास्तविकता उजागर गर्छ। उनीहरूका लागि गिट्टी कुट्नु रहर होइन, बाध्यता हो। सडकमै श्रम गरेर जीवन धान्नु पर्ने अवस्था कहिलेसम्म रहन्छ? यसबारे गम्भीर बहस र समाधान खोजिन जरुरी छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट