रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार बेलुका ७ हजार दीप प्रज्वलन गरिएको छ । चौथौँ त्रिपिटक पाठ समारोहको समापन सकिएपछि केन्द्रीय नहरको मध्य भागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको हो ।
धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका ५ सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र साहर्दताका लागि दीप प्रज्वलन गरेको हो। नेपालको झन्डा केन्द्र भाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्वलनको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थवीरले शुभारम्भ गरेका थिए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गर्नु आफैमा महत्त्वपूर्ण भएको बताए । उनले बुद्धका उपदेशहरूलाई यस्तै आध्यात्मिक कार्यक्रमहरूबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए ।
लामाले लुम्बिनी बुद्धजन्मस्थल भएकाले विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँ आउँदा बुद्धलाई साक्षात् भेटेजस्तो हुने बताए । उनले बुद्धका महत्त्वपूर्ण चार स्थानमध्ये जन्मस्थाल लुम्बिनी सबैभन्दा महत्त्वपूर्ण रहेकोले संसारभरका शान्तिप्रेमीहरूलाई एक पटक लुम्बिनी भ्रमण गर्न आग्रह गरे ।
उपाध्यक्ष लामाले बुद्धको उपदेशलाई त्रिपिटक पाठले विश्वभर फैलाउन महत्त्वपूर्ण योगदान गरेको बताउँदै आगामी वर्ष अझ यसलाई ठूलो संख्यामा गर्नुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा. अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरिक र बाह्य ज्ञानलाई प्रतिबिम्बन गरेको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले बोल्दै दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अँध्यारो चिर्दै जाने बताए । गत वर्ष पनि सोही स्थानमा दीप प्रज्वलन गरिएको थियो ।

लुम्बिनीमा सञ्चालित चार दिने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सकिएको हो । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।
त्रिपिटक पाठ समारोहमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित ४ सय बढीको सहभागिता रहेको थियो । त्रिपिटक पाठ समारोहको बुधवार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस