बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बूढीगंगा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्रयाक्टर चालक पदमबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगंगा नगरपालिका आउँदै गरेको भे२त १५८८ नम्बरको ट्रयाक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिए ।
उनका अनुसार ट्र्याक्टरमा सवार रहेका चार जना मध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
अन्य तीन जना सकुशल रहेको, ट्रयाक्टर को अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस