काठमाडौं । प्रस्तावित ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी लिमिटेड (इरेडा) को प्रस्ताव अस्वीकृत भएको छ ।
प्रस्ताव अस्वीकृत भए पनि इरेडाले फेरि भारतीय केन्द्रीय बैंक (आरबिआई) मा स्वपुँजी लगानीका लागि प्रस्ताव गर्न लागेको द इकोनोमिक टाइम्सले जनाएको छ । भारतीय केन्द्रीय बैंकले इरेडालाई पत्राचार गर्दै यसबारे जानकारी दिइसकेको छ । त्यसपछि इरेडाले भारतको नेसनल स्टक एक्सचेन्ज अफ इन्डिया लिमिटेड र बम्बई स्टक एक्सचेन्जलाई पनि यसबारे जानकारी दिएको छ ।
लगानी अस्वीकृत भएपछि इरेडाको सेयर मूल्य १.७ प्रतिशत घटेर प्रतिकित्ता १ सय ४७ भारुमा झरेको छ ।
लगानी बोर्डका प्रवत्ता तथा सहसचिव प्रध्युम्नप्रसाद उपाध्याले इरेडाको लगानी आरबिआइले अस्वीकृत गरेको आधिकारिक जानकारी नआएको बताए ।
माथिल्लो कर्णाली आयोजना बनाउन गत भदौमा जिएमआर इनर्जी लिमिटेड, एसजेभिएन लिमिटेड र इरेडाबीच लगानी सम्झौता भएको थियो । आरबिआइले स्वपुँजी लगानी अस्वीकृत गरेपछि इरेडाको लगानी योजना अलपत्र पर्ने भएको छ । यसको असर जलविद्युत आयोजनामा पर्नेछ ।
तोकिएको समय सकिनु दुई दिनअघि गत माघ २ गते जिएमआरले सतलज र इरेडाले गरी माथिल्लो कर्णाली आयोजना बनाउन कूल १ खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ लाग्ने लगानी बोर्डलाई जानकारी गराएको छ ।
जसमध्ये जिएमआर इनर्जी, एसजेविएन लिमिटेड र इरेडाले ३० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने र बाँकी ७० प्रतिशत कर्जा लगानी हुने गरि लगानी संरचना बनाएको जानकारी दिएको छ ।
स्वीकृत कर्जा र सीमाअनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले ३० करोड रुपैयाँ विकासकर्ता जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडको खातामा पठाएको बैंकको पत्र पेश गरेको छ ।
यसैगरि इरेडाले गर्ने भनेको ४५ अर्ब भारु लगानी स्वीकृतिका लागि टर्म एन्ड कन्डिसनसहितको आशयपत्र पेश गरेको जिएमआरले जनाएको छ । जिएमआरले पावर फाइनान्स कर्पोरेशन इन्डिया लिमिटेडबाट पनि ६५ अर्ब भारु कर्जा लगानीको आशयपत्र पेश भएको जनाएको छ । इरेडाबाट नभए पावर फाइनान्सबाट पनि लगानी जुट्ने जानकारी जिएमआरले दिएको छ ।
आयोजनाबाट व्यवसायिक उत्पादन हुने मितिसम्मका कार्यायोजना बोर्डमा पेश भएको छ । नयाँ लगानी संरचनाअनुसार जिएमआर इनर्जीका अतिरित्त जिएमआर पावर एन्ड अर्बान इन्फ्रा लिमिटेड, जिएमआर जिएमआर लायन इनर्जी लिमिटेड, एसजेभिएन लिमिटेड, नेपाल विद्युत प्राधिकरण र जिएमआर अपर कर्णाली हाइड्रोपावरसँग संयुक्त लगानी (जेभी) सम्झौता पेश भएको छ ।
जिएमआरको माथिल्लो कर्णाली आयोजनाको अनुमति अवधिम यही माघ ४ गतेसम्म थियो । जिएमआरले माघ २ गते नै वित्तीय व्यवस्थापन गरेको जानकारी दिएको थियो । लगानी बोर्डको आगामी सञ्चालक समिति बैठकमा जिएमआरको लगानी प्रस्ताव पेश हुने भएको छ ।
लगानी बोर्डको ६०औं वैठकले भारतको जिएमआर इनर्जीले पेश गरेको नयाँ सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव गत मंसिरको पहिलो साता स्वीकृत गरेको हो ।
जसअनुसार जिएमआर र एसजेभिएनको बराबर अर्थात ३४ ३४, विद्युत प्राधिकरणको २७ र इरेडाको ५ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको स्वामित्व हुने गरी लगानी संरचना बनाएको छ । माथिल्लो कर्णालीमा पाँच नेपाली बैंकहरुले लगानी गर्ने भएका छन् । एनआइएमबीको अगुवाइमा ४२ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने सम्झौता गरेका छन् ।
आयोजनको प्रवद्र्धक जिएमआरले एनआइएमबीको अगुवाइमा एभरेष्ट बैंक, सनराज लक्ष्मी बैंक र एनएमबी बैंक रहेका छन् । एनआइएमबीबाट ४२ अर्ब रुपैयाँ लगानी हुदाँ र इरेडाबाट ६५ अर्ब भारु (१ खर्ब ४ अर्ब रुपैयाँ) प्राप्त हुने जिएमआरले जनाएको छ ।
यो पनि :
माथिल्लो कर्णालीमा नेपाल इन्भेस्टमेन्टको अगुवाइमा पाँच बैंकको ४२ अर्ब ऋण लगानी
प्रतिक्रिया दिनुहोस