
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद विमला सुवेदीले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेकाले सरकारले जनताका पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद सुवेदीले अहिलेको व्यवस्थाको रक्षाका लागि जनताका पक्षमा प्रभावकारी रुपमा काम गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
राजतन्त्रवादीहरु व्यवस्थाकाविरुद्धमा लागेको उल्लेख गर्दै उनले बेलैमा सचेत रहन र गणतन्त्रप्राप्तिका लागि भएका योगदानको सम्मान गर्न सबैले ध्यान दिनुपर्ने खाँचो रहेको बताइन् ।
सांसद सुवेदीले भनिन्, “यो लोकतान्त्रिक शासन व्यवस्थामा राजा ल्याउने सपना देख्न पाइन्छ तर राजतन्त्र फर्काउने कुरा सम्भव छैन । राजसंस्था फर्केला भनेर भ्रमको खेती गर्न पनि पाइन्न ।”
पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने विषय बेठीक भएको भन्दै उनले आफ्नो पार्टीले यसको विरोध गर्ने बताइन् । सांसद सुवेदीले बाँकेको बालेन्दु बालसुधार गृहका समस्या दीर्घकालीन रुपमा समाधानका लागि कानुनी र संरक्षणगत सुधार जरुरी रहेको समेत उल्लेख गरिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend