काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आँकलन नै गर्न नसकेको बताए । देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउन लाग्नु पर्नेमा ओलीको जोड थियो ।
'हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ ।', प्रधानमन्त्री ओलीले भने, 'स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादित रुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरूले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।'
कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक भेला बारे मन्तव्य दिएका थिए।
प्रतिक्रिया दिनुहोस