काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन् ।
शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन । सरकारले वैदेशिक रोजगार ऐन श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको पनि उनले जानकारी दिए। कानूनहरुलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्नको लागि सरकार र निजी क्षेत्रबीच समन्वय हुन आवश्यक रहेको उनको भनाइ छ । उनले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जान निषेध गर्ने निर्णय समेत खारेज गरिसकेको बताए।
उनले भने, ‘अहिलेसम्मको अनुभवको आधारमा वैदेशिक रोजगारको व्यवसायलाई अगाडि बढाउनको निम्ति के के कुराका कानूनी अड्चनहरु छन् त्यसको खोजि गरी सुधार गर्नुपर्ने कुराहरुको आधारमा सरकारले अहिले वैदेशिक रोजगार ऐन र श्रम ऐनलाई संशोधन गर्ने क्रममा हामी छौं । त्यसका लागि हामी आवश्यक सल्लाह गरिरहेका छौं । यसअघि पनि म आफैँ मन्त्री भएको बेला कानूनी समस्याको कारण कम्पनी नै बन्द हुने स्थिति कानून संशोधनमार्फत समाधान गरेको हु ।’
वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस