बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
बुधवार रुपन्देहीमा आयोजित ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नेतृत्व प्रदेश सरकारले लिने उनको भनाइ छ । उनले श्रमिकको स्वास्थ्य परिक्षण, श्रम स्वीकृति र भिसाका लागि आवश्यक संयन्त्रहरु स्थापना नहुँदा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसकेको समेत बताए । उनले सडकमा आन्दोलन गरेर नभई संघीय सरकारसँग वार्ता र समन्वय गरी विमानस्थल सञ्चालन गरिने बताए।
मुख्यमन्त्री आचार्यले भने, ‘नेतृत्व गर्नुप¥यो भनेपनि हामी नेतृत्व गरेर अगाडि बढ्छौं । अहिले हामी सडक तताएर होइन संवाद र वार्ताको माध्यमबाट अगाडि बढ्नुपर्छ । विमानस्थल जसरी जुनसुकै हालतमा पनि सञ्चालन हुनुपर्छ । विमानस्थल सञ्चालन गराएरै छाड्छौं । सरकार निराश भएको छैन । स्वास्थ्य, श्रम स्वीकृति र भिसाको काम यहीबाट हुने कुरा तत्काल गर्नुपर्छ भनेर सरकारले बारम्बार भनेको छ । हामीले स्वास्थ्यको परिक्षण भीम अस्पतालमा निःशुल्क गरिदिन्छौं भनेका छौं ।’
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरुमा चार अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गरेका थिए । तर मौसमी अवस्था र यात्रु अभावले नियमित उडान सम्भव नरहेको भन्दै उडान बन्द गरेका थिए । सरकार विमानस्थलको दिगो सञ्चालनको लागि आवश्यक कामहरु भइरहेको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस