काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका बजेट शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिने तथा विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ तथा रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको पनि जवाफ दिइनेछ ।
बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकमा २० जना सांसदले दर्ता गराएका खर्च कटौती प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।
त्यसपछि विनियोजन विधेयक, २०८३ का विभिन्न दफामाथि निर्णय गरिनेछ भने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछन् ।
संसद् सचिवालयका अनुसार आजको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस