२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

काभ्रे बुच्चाकोट बस दुर्घटना

शोकमा रोशी गाउँपालिकामा सार्वजनिक बिदा, परिवारलाई जनही ५० हजार सहयोग

बिहिवार , आषाढ ४, २०८३

काभ्रे । बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको दुःखद बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा रोशी गाउँपालिकाले आगामी असार ५ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ । 

गत जेठ २९ गते दिउँसो भएको उक्त दुर्घटनामा रोशी गाउँपालिकाका ७ जना स्थानीयवासीसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले शोक वक्तव्य जारी गरी आफ्ना मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा घोषणा गरेको हो । 

गाउँपालिका अध्यक्ष दिनेश लामाद्वारा जारी वक्तव्यमा यस दुःखद घडीमा पालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, इमर्जेन्सी सेवाबाहेकका स्वास्थ्य संस्था तथा गाउँपालिका मातहतका सबै कार्यालयमा शोक बिदा दिने निर्णय गरिएको उल्लेख छ । वक्तव्यमा दुर्घटनामा आफ्ना नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै गाउँपालिका परिवारले गहिरो समवेदना व्यक्त गरेको छ ।

roshi-gaunpalika-900px.jpg

गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ। अध्यक्ष लामाले मृतक परिवारलाई किरिया खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

यसैबीच, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाले आवश्यक सहयोग र सहकार्य जारी राख्ने जनाएको छ ।

गत जेठ २९ गते बीपी राजमार्ग हुँदै रोशी–८ खार्पाचोकबाट रोशी–६ सुगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको पूर्व अरनिको यातायातको यात्रुवाहक बस बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट