काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १९ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि आज संसदमा धारणा राख्दै यस्तो बताएका हुन् ।
उनले गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रूप दिन खोजिएको बताए । तर यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको बताए ।
अध्यक्ष प्रचण्डले सरकारसँग सङ्ख्याको दम्भ भएको र जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन भएकाले नीति तथा कार्यक्रम र बजेटका बारेमा संसद्मा हुने छलफललाई फेरि कर्मकाण्डी बनाएको बताए । उनले यो सच्चाउन मागसमेत गरे ।
प्रचण्डले सरकारको नीति तथा कार्यक्रम जनताको जिवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टाढा रहेको बताए ।
‘नीति तथा कार्यक्रमले न त विगतको समिक्षा गरेको छ, न वर्तमान संकटसँग जुध्न सक्ने योजना बोकेको देखिन्छ। यसले जनता र राष्ट्रका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस