भक्तपुर / भक्तपुरको नगरकोटमा सामान्य विवाद झैँ–झगडामा परिणत हुँदा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१ नगरकोटमा असार ८ गते राति करिब १० बजे भएको घटनामा महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोटमोड बस्दै आएका २८ वर्षीय आकाश रसाइली गम्भीर घाइते भएका थिए।
रसाइलीमाथि चक्कु प्रहार भएपछि उनलाई तत्काल उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको कारण र संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस